नेभिगेशन
अर्थतन्त्र
दीपक भट्टसँग जोडिएका आर्थिक कसुरमा संलग्नता आरोपित धमाधम प्रहरीको नियन्त्रणमा

हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

काठमाडौं । दीपक भट्टसहितका व्यक्तिमाथि बिमा कम्पनीको रकम प्रयोग गरी सेयर कारोबार गरेको आरोपमा भइरहेको अनुसन्धान थप फराकिलो पार्दै अभियुक्तहरुलाई भगाभग पक्राउ गर्न थालिएको छ । यही प्रकरणमा जोडिएको बिमा ऐनअन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन् । 
नेपाल बिमा प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकरमा गरेको निरीक्षणबाट देखिएका विषयका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पौडेललाई पक्राउ गरेको हो ।
पौडेलमाथि बिमा ऐन, २०७९ को दफा १४०(१) को खण्ड (छ) र (झ) अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 
भट्ट प्रकरणमा यसअघि बिमा कम्पनी तथा सम्बन्धित संस्थाको अर्बौं रुपैयाँ सेयर कारोबारमा प्रयोग भएको, भृकुटी स्टक ब्रोकिङमार्फत व्यक्तिगत ग्राहकका नाममा कारोबारको राफसाफ गरिएको तथा कम्पनीले फिर्ता पाउनुपर्ने रकम लामो समयसम्म नपाएको विषयमा अनुसन्धान भएको थियो ।
त्यसैक्रममा हिमालयन रिइन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, हिमालयन इन्भेस्टमेन्ट बैंकर, नेपाल माइक्रो इन्स्योरेन्सलगायत संस्थाका सञ्चालक तथा पदाधिकारीहरू अनुसन्धानको दायरामा आएका छन् ।
यसअघि बुधबार र बिहीबार हिमालयन इन्भेस्टमेन्ट बैंकरका लगानी संयोजक सुमेर शम्शेर जबरा र हिमालय सेक्युरिटी बैंकरका अध्यक्ष दीपककुमार श्रेष्ठलाई पनि सीआईबीले पक्राउ गरेको छ । 
भट्ट प्रकरणमा अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्सबाट मात्रै २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढी रकम भृकुटी स्टक ब्रोकिङमार्फत भएको सेयर कारोबारको राफसाफमा प्रयोग भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढी, हिमालयन क्यापसर्भको ३७ करोड, हिमालयन सेक्युरिटी बैंकरको २२ करोड रुपैयाँभन्दा बढी तथा एचएलआई लार्ज क्याप फण्डको करिब २५ करोड रुपैयाँसमेत अनुसन्धानमा जोडिएको छ ।
अनुसन्धानअनुसार कम्पनीको रकम ब्रोकरमा पुगेपछि दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल, ऋषिराज मोर लगायतका व्यक्तिगत ग्राहकका नाममा भएको ठूलो सेयर कारोबारको राफसाफमा प्रयोग भएको थियो । कम्पनीको रकमबाट व्यक्तिगत खातामा सेयर खरिद भएको र कारोबारको रकम फछ्र्योट नभएको विषयलाई अनुसन्धानले गम्भीर वित्तीय अनियमितताका रूपमा लिएको छ ।
यही कारोबारसँग जोडिएको धितोपत्रसम्बन्धी अनुसन्धानमा नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य प्रभावित पारिएको आरोपसमेत छ । ठूलो परिमाणमा सेयर खरिद गरी बजारमा माग बढाउने र मूल्य प्रभावित पार्ने गतिविधि भएको अनुसन्धानको निष्कर्ष छ ।
पौडेल पक्राउको तत्कालीन आधार भने ट्रष्ट इन्स्योरेन्स ब्रोकरमा नेपाल बिमा प्राधिकरणले गरेको निरीक्षण प्रतिवेदन हो । प्राधिकरणको निरीक्षणमा भेटिएका विषयलाई आधार बनाएर सीआईबीले बिमा ऐनको दफा १४० अन्तर्गत अनुसन्धान अघि बढाएको छ ।
यद्यपि, पौडेलले व्यक्तिगत रूपमा कति रकम हिनामिना गरिन् वा कुन कारोबारमा प्रत्यक्ष निर्देशन दिइन् भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन । उनी हिमालयन रिइन्स्योरेन्सकी सीईओ भएका कारण कम्पनीको व्यवस्थापन तथा निर्णय प्रक्रियासँग उनको भूमिका कसरी जोडिन्छ भन्ने विषय अनुसन्धानबाट खुल्नेछ ।
भट्ट प्रकरणमा पक्राउ परेका सबै व्यक्ति दोषी प्रमाणित भइसकेका भने होइनन् । उनीहरूमाथि अनुसन्धान भइरहेको हो र अन्तिम दोष–निर्दोष अदालतको फैसलाबाट निर्धारण हुनेछ ।
दक्षिणकाली–३ स्थायी ठेगाना भएकी ३९ वर्षीया पौडेललाई सीआईबीले पक्राउ गरेको हो । उनको पक्राउलाई पछिल्लो समय बिमा कम्पनी, पुनर्बीमा ब्रोकर र सेयर कारोबारमा देखिएको ठूलो आर्थिक अनियमितताको अनुसन्धानसँग जोडेर हेरिएको छ । 
हिमालयन रि पनि जोडिएको ठूलो अनुसन्धान
पौडेल सीईओ रहेको हिमालयन रिइन्स्योरेन्स भने यसअघि नै ठूलो बिमा तथा धितोपत्र कारोबारसम्बन्धी अनुसन्धानको केन्द्रमा आइसकेको छ ।
बिमा प्राधिकरण र धितोपत्र बोर्डको अनुसन्धानबाट हिमालयन रिइन्स्योरेन्ससहित विभिन्न बिमा तथा सम्बन्धित संस्थाको रकम सेयर कारोबारमा प्रयोग भएको विषय बाहिर आएको छ । अनुसन्धानमा हिमालयन रिइन्स्योरेन्सबाट  २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँभन्दा बढी रकम भृकुटी स्टक ब्रोकिङमार्फत सेयर कारोबारमा प्रयोग भएको उल्लेख छ ।
अनुसन्धान विवरणअनुसार हिमालयन रिइन्स्योरेन्सले विभिन्न बिमा कम्पनीको सेयरमा लगानी गर्ने भन्दै भृकुटी स्टक ब्रोकिङलाई पटक–पटक अग्रिम रकम पठाएको थियो । तर सेयर बिक्रीपछि प्राप्त हुनुपर्ने रकमसमेत फिर्ता नलिएको र लामो समयसम्म ब्रोकरबाट प्राप्त गर्नुपर्ने रकम उठाउन आवश्यक कदम नचालेको आरोप अनुसन्धानमा समेटिएको छ ।
यस क्रममा बिमा प्राधिकरणबाट जारी लगानीसम्बन्धी निर्देशनविपरीत बिमकको रकम लगानी गरिएको र त्यसबाट कम्पनीलाई हानि–नोक्सानी पुगेको दाबीसमेत अभियोगसम्बन्धी विवरणमा गरिएको छ । रकम फछ्र्योट नभएपछि पनि थप पेस्की उपलब्ध गराइएको विषयलाई अनुसन्धानले गम्भीर मानेको देखिन्छ ।
भृकुटी ब्रोकर हुँदै व्यक्तिगत कारोबार
यस प्रकरणको अर्को महŒवपूर्ण पक्ष भृकुटी स्टक ब्रोकिङ हो । अनुसन्धानअनुसार बिमा कम्पनी तथा सम्बन्धित संस्थाबाट आएको रकम ब्रोकरमा पुगेपछि त्यसको प्रयोग व्यक्तिगत ग्राहकका नाममा भएको ठूलो सेयर कारोबारको राफसाफमा समेत गरिएको थियो ।
सार्वजनिक भएको अनुसन्धान विवरणमा हिमालयन रिइन्स्योरेन्सबाट आएको रकम दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल, ऋषिराज मोर लगायतका ग्राहक खाताबाट भएको कारोबारसँग जोडिएको उल्लेख छ ।
यसको अर्थ कम्पनीको रकम ब्रोकरमा पुग्यो, त्यहाँबाट ठूलो परिमाणमा सेयर कारोबार भयो र कारोबारको राफसाफमा संस्थागत रकम प्रयोग भएको अनुसन्धानको निष्कर्ष हो ।
अनुसन्धानले यस्तो कारोबारका कारण बिमा कम्पनीको रकम लामो समयसम्म फिर्ता हुन नसकेको तथा कम्पनीको हितविपरीत आर्थिक जोखिम सिर्जना भएको दाबी गरेको छ ।
सेयर मूल्य प्रभावित पार्ने आरोप
अनुसन्धानको अर्को पाटो सेयर बजारमा मूल्य प्रभावित पार्ने गतिविधिसँग सम्बन्धित छ । हिमालयन रिइन्स्योरेन्ससहितका संस्थाको रकमबाट नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ लगायत बिमा कम्पनीका सेयर खरिद गरिएको र ठूलो परिमाणमा कारोबारमार्फत बजारमा माग तथा मूल्य प्रभावित पारिएको अनुसन्धानमा उल्लेख छ ।
नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य २०८२ साउन ५ मा प्रतिकित्ता १ हजार ४६१ रुपैयाँ रहेकोमा भदौ १० मा १ हजार ६८६ रुपैयाँ पुगेको विवरणसमेत अनुसन्धानसँग सम्बन्धित सार्वजनिक कागजातमा उल्लेख छ ।
यसरी ठूलो रकम परिचालन गरी सेयर खरिद गर्ने, कारोबारको राफसाफमा संस्थागत रकम प्रयोग गर्ने र बजार मूल्य बढेपछि सेयर बिक्री गर्ने उद्देश्य राखिएको हो कि होइन भन्ने विषय अनुसन्धानको मुख्य प्रश्न बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्