नेभिगेशन
मनोरञ्जन

सहयोगको हात बढाउँदै फिल्मकर्मी

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशमा विषम परिस्थिति सिर्जना भएको छ । बाढीमा परी सयौँको ज्यान गएको छ भने पूर्वधारमा समेत ठूलो क्षति पुगेको छ । यस्तो असहज परिस्थितिमा मनोरञ्जन क्षेत्रका गतिविधि ठप्प प्रायः छ । प्रदर्शनको तयारीमा रहेका फिल्मले प्रचार अभियान समेत तत्काललाई रोकेका छन् । 

कन्सर्टदेखि फिल्मका प्रदर्शन मितिसम्म ‘पोस्टपोन्ड’ भइरहेका बेला भदौ १९ गते प्रदर्शन हुने भनिएको फिल्म ‘ककाकिकी’ले समेत आफ्नो प्रदर्शन मिति सारेको छ ।

शुक्रबार निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोकी प्रमुख श्रद्धा प्रसाईंले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मिति स्थगित गरिएको जानकारी गराएकी हुन् । देश विषम परिस्थितिसँग जुधिरहेको अवस्थामा हाँस्ने र हँसाउने कार्यक्रम कल्पना गर्न समेत नसकिने भएकाले तत्काललाई फिल्मको प्रदर्शन र प्रचार स्थगन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै फिल्मकी गायिका समीक्षा अधिकारीले शनिबार आफूले बाढीपीडितहरूका लागि खाद्यान्न सहयोग गरेकी छन् । उनले यसअघि विहीबार रकम नखुलाई प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा आर्थिक सहयोग गरेकी थिइन् ।

शनिबार भने पोखरास्थित जिल्ला प्रशासन कार्यालयमा बाढीपीडितहरूका लागि आवश्यक खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेको बताएकी छन् ।
उनले सहयोग ठूलो वा सानो नहुने बताउँदै दुःखमा परेको बेला साथमा उभिन सक्नु नै ठूलो कुरा भएको जनाइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “उहाँहरूको पीडा पूर्ण रूपमा कम गर्न नसके पनि, यो कठिन समयमा थोरै भए पनि राहत र साथ बन्न सकूँ भन्ने मेरो प्रयास हो।“

यसलाई कुनै प्रचारको रूपमा नलिइदिनसमेत उनले आग्रह गरेकी छन् । 

यसैगरी फिल्म ‘पार्वती’ले भने आफ्नो प्रदर्शन रोकेको छैन । शुक्रबारबाट प्रदर्शनमा आएको सो फिल्मको बुकिङ खु्लेको र टिकट समेत बिक्री भइसकेका कारण निर्माण पक्षले प्रदर्शन नरोक्ने निर्णय गरेका हुन् ।

फिल्मकी निर्माता तथा निर्देशक नीता ढुंगानाले घटनाको पहिलो दिन नै आफ्नोतर्फबाट एक लाख रूपैयाँ सहयोग राशि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गराएकी छन् । यस्तै फिल्मको ब्यापक ओपनिङ भएपछि ’पार्वती’ निर्माण समूहले  बरु फिल्मको पहिलो दिनको सम्पूर्ण कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी पीडितलाई दिइने घोषणा गरिएको छ । 

अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको ‘पार्वती’ले देशव्यापी एक सयभन्दा बढी शो पाएको छ । त्यसमध्ये केही शोमा टिकट बिक्री राम्रो देखिएको छ । पहिलो शोमा फिल्म हेरेका दर्शकबाट प्रतिक्रिया पनि सकारात्मक पाएको छ । 

यसैगरी दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म प्रोडक्शन कम्पनी आमा सरस्वती मुभिजका तर्फबाट पनि तीन लाख रूपैयाँ सहयोग गरेको एक विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तै आफÞूले दुःख गरेर कमाएको पैसा आफ्नो गाउँलाई दुःख पर्दा सहयोग गरेको हो भन्दै जसले जति सक्छ, उति सहयोग गरौँ भन्दै फिल्म निर्माता तथा गायक अर्जुनकुमारले सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूले सहयोग गरेको रकम भने खुलाउन चाहेनन् । उनले आफ्नै परिवार पनि यस विपत्तिमा परेकाले सरकारले अझ सशक्त उद्धार कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्