नेभिगेशन
मनोरञ्जन

विपदमा चलचित्र क्षेत्रका २९ संघसंस्थाले सघाउने

आफ्नो कार्यकाल सकिएको अवसर पारेर चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मी विभिन्न संघसंस्थालाई एकै ठाउँमा भेला गराई बाढीपीडितलाई सहयोगका लागि अपिल गरेका छन् ।
सो अवसरमा चलचित्र क्षेत्रका २९ संघ–संस्थाले उद्धार, राहत तथा जनचेतनामूलक अभियानमा आफूहरुले एकजुट भएर सघाउने बताएका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको नेतृत्वमा भदौ १० गते बोर्ड परिसरमा बसेको संयुक्त बैठकले चलचित्र क्षेत्रका संघ–संस्थाले आ–आफ्नो क्षमता, सीप र कार्यक्षेत्रअनुसार विपद् प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले आफ्ना सदस्यहरूलाई समेत परिचालन गरी उद्धार, राहत वितरण, क्षतिको पहिचान, जनचेतना अभिवृद्धि तथा आवश्यक सहयोगका कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने साझा प्रतिबद्धता जनाएको छ ।
सहमतिअनुसार मानवरहित विमान (ड्रोन) सम्बन्धी संस्थाले ड्रोन प्रविधिको प्रयोगमार्फत प्रभावित क्षेत्रको क्षति पहिचान र नक्सांकनमा सहयोग गर्नेछन् । चलचित्र प्रदर्शकहरूले राहत संकलनका लागि आयोजना गरिने च्यारिटी शो सञ्चालन गर्न चलचित्रघर उपलब्ध गराउने र निर्माताहरूले त्यस्ता प्रदर्शनका लागि चलचित्र निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ ।
त्यस्तै, चलचित्र क्षेत्रबाट सञ्चालन हुने च्यारिटी तथा सहयोग अभियानमार्फत संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् राहत तथा उद्धार कोषमा जम्मा गरिने भएको छ। सहयोगका कार्यक्रमलाई पारदर्शी, समन्वित र जिम्मेवार ढंगले अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।
विपद्का बेला भ्रम, त्रास र अपुष्ट सूचना फैलिन नदिन चलचित्रकर्मीहरूलाई सचेत गराउने तथा आफ्ना सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सही सूचना प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
बैठकमा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, चलचित्र पत्रकार संघ नेपाल, नेपाल एआई फिल्म एलायन्स, नेपाल चलचित्र छायाँकार संघ, एनिमेसन तथा भिजुअल इफेक्ट्स एसोसिएसन अफ नेपाल, मानवरहित विमान (ड्रोन) संघ नेपाल, अडियो भिडियो सोसाइटी अफ नेपाल र नेपाल फिल्म सोसाइटीलगायत संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
त्यसैगरी आदिवासी जनजाति चलचित्र महासंघ तथा महासंघअन्तर्गतका थारु चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ, धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एसोसिएसन नेपाल, भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ मुन्चइत चोक सयङ, थामी चलचित्र संघ, नेवाः फिल्म सोसाइटी र शेर्पा चलचित्र संघका प्रतिनिधि पनि बैठकमा सहभागी थिए ।
चलचित्र क्षेत्रले विपद्को कठिन घडीमा मनोरञ्जनको क्षेत्रभन्दा बाहिर निस्केर राष्ट्र र नागरिकप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सामूहिक रूपमा सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्