नेभिगेशन
अर्थतन्त्र

बाढीपीडितलाई एलपी ग्यास उद्योग संघले १२ सय ५० सिलिन्डर ग्यास सहयोग गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि राहत स्वरूप १ हजार २ सय ५० थान भरिएको एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ । संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगममार्फत लक्षित वर्गमा पुग्ने गरी उक्त परिमाणको ग्यास सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा ठूलो धनजनको क्षति भएको थियो । उक्त प्राकृतिक विपत्तिप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष दिवान बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "विपद् कसैको एक्लो समस्या होइन, यो सबैको साझा जिम्मेवारी हो । यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै संघको तर्फबाट १२ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।"
संघले बाढीमा परी ज्यान गुमाएका मृतकहरूका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यमा जुट्न संघले सरोकारवाला सबैमा हार्दिक अपिल गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्