नेभिगेशन
अर्थतन्त्र

चीनले नेपाललाई दियो ५० टन आपतकालीन राहत सामग्री

काठमाडौं । नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूका लागि चीन सरकारले पठाएको ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। आज बिहान स्थानीय समय अनुसार करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा विशाल 'वाई-२०' सैन्य मालवाहक विमान राहत सामग्री र उद्धार टोली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चीनको चेङ्दु सुआङ्लीउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू करिब ३ घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। विमानहरूमा ५० टन तौल बराबरका कुल १३,२०० थान राहत सामग्री ल्याइएको छ, जसमा आपतकालीन त्रिपाल (पाल), कम्बल, स्लिपिङ ब्याग, ड्राइफूड (बिस्कुट) र प्राथमिक उपचार किटहरू समावेश छन्।
राहत सामग्रीका साथै बाढी र पहिरो प्रभावित क्षेत्रको कठिन भूगोलमा खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन चीनका ४ जना सुरुङ उद्धार विशेषज्ञ र अत्याधुनिक उद्धार उपकरणहरू समेत नेपाल आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले उक्त राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरे  राहत सामग्री बुझ्न र चिनियाँ उद्धार टोलीलाई स्वागत गर्न नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन र संघीय संसद् धर्म केसी विमानस्थल पुगेका थिए।
भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा ठूलो धनजनको क्षति पुर्‍याएपछि मित्रराष्ट्र चीनले यो सहयोग उपलब्ध गराएको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्