नेभिगेशन
अर्थतन्त्र
मोबाइल र इन्टरनेट सहज बनाउन काम युद्धस्तरमा

७२ घण्टामै ब्युँताइयो ३४ साइट

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा ७२ घण्टामै दूरसञ्चार नेटवर्क पुनःस्थापना भएको छ । बाढीले पूर्वाधार बगाएको रसुवा र नुवाकोटमा अस्थायी प्रबन्ध गर्दै मोबाइल र डाटा सेवा चल्ने बनाइएको छ । भोटेकोशी नदीमा गत बुधबार बिहान करिब ९ बजे आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार पूर्वाधारमा गम्भीर क्षति पु¥याएको छ । नेटवर्क पुनस्थापना सफल भए पनि मोबाइल प्रयोगकर्ताको चापका तुलनामा सेवाको गुणस्तर भने भरपर्दो हुन सकेको छैन ।  
बाढी र पहिरोका कारण विद्युत्, ट्रान्समिसन तथा दूरसञ्चार संरचनामा व्यापक क्षति भएपछि नेपाल टेलिकम र एनसेलका ७८ भन्दा बढी साइटहरू प्रभावित भई नेटवर्क अवरुद्ध भएको थियो । बाढीले ७ वटा टावर बगाउनुका साथै फाइबर तार पूरै क्षतविक्षत हुने गरी बगाएपछि वैकल्पिक तवरले नेटवर्क जडान गरिए पनि भौगोलिक अवस्थिति र यातायात अवरुद्ध भएका कारण पर्याप्त उपकरण लान नसक्दा नेटवर्कमा समस्या बाँकी नै रहेको हुवावे कम्पनीको टेक्नोलोजी डेलिभरी सेवाका उपाध्यक्ष नवीन जीसीले बताए । 
नेपालमा एनसेल र एनटीसीका टावरहरुको मर्मत सम्भार र जडान गर्ने कार्य हुवावेले गर्दै आएको छ । विपद्पछि प्रभावित पूर्वाधारको तत्काल मूल्यांकन, आपतकालीन नेटवर्क कनेक्टिभिटी पुनःस्थापना तथा सञ्चार सेवाको निरन्तरता सुनिश्चित गर्न तत्कालै विपद् व्यवस्थापन तथा नेटवर्क पुनःस्थापना कार्यहरू सुरु गरिएको छ । सम्बन्धित टोलीहरूबीच निरन्तर समन्वय गरी प्रभावित क्षेत्रको नेटवर्कलाई सुरक्षित र प्राथमिकताका आधारमा चरणबद्ध रूपमा पुनःस्थापना गर्ने कार्य भइरहेको जीसीले स्पष्ट पारे । 
बाढीले रसुवाका १७ साइट, नुवाकोटका ४२ साइट र धादिङका १९ साइट गरी भोटेकोशी–त्रिशूली करिडोरमा भीषण क्षति पु¥याएको छ । हुवावेको तथ्यांकअनुसार नेपाल टेलिकमका १२० साइटमध्ये ५१ साइट र एनसेलका ७८ साइटमध्ये २७ साइट प्रभावित भएका छन् ।
बाढी तथा पहिरोका कारण २० भन्दा बढी फाइबर रुट पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । ३० भन्दा बढी साइटमा इन्धन तथा सामग्री आपूर्ति शृंखला अवरुद्ध भएको छ । ७८ साइटमा सेवा अवरुद्ध भएको छ भने १५० भन्दा बढी सेलमा नेटवर्क कन्जेसन देखिएको छ, जसले प्रभावित क्षेत्रमा नेटवर्कमा अत्यधिक भीडभाडका कारण कल गर्न र डेटा चलाउन कठिनाइ उत्पन्न गरेको छ । निरन्तर बाढीको चेतावनी तथा फिल्ड टोलीका लागि प्रतिकूल मौसमको जोखिम कायम छ । दुर्गम हिमाली भू–भागमा सडक पहुँच सीमित भएकाले काममा थप चुनौती थपिएको जीसीको भनाइ छ । 
नेटवर्क क्षमता बिस्तार गरिँदै 
टेलिकम र एनसेलका अनुसार कल सेटअप सफलता दर ९७ प्रतिशत पुगेको छ । टेलिकम कम्पनीहरूले बाढीबाट प्रभावित नेटवर्कलाई छिटो पुनःस्थापना गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेका छन् । अहिले पनि कम्पनीहरू टावर पुनःस्थापना, फिल्ड स्रोतसाधन तथा लजिस्टिक व्यवस्थापन, नेटवर्कलाई २४ सै घण्टा निगरानी गर्नेदेखि चाप परेका ठाउँमा नेटवर्क क्षमता विस्तार गर्ने काम गरिरहेका छन् ।
विपद्लगत्तै मानव सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै नेटवर्क पुनःस्थापना अभियान सञ्चालन गरिएको छ । हालसम्म ३४ साइट पुनःस्थापना गरिएको छ । यसमा नेपाल टेलिकम र एनसेलका १० वटा महŒवपूर्ण हब साइटसहित २० भन्दा बढी फाइबर लिंक पुनःस्थापना समावेश छन् ।
हेलिकप्टरमार्फत २० पटकभन्दा बढी उडान गरी साइट पुनःस्थापना कार्य भएको छ । यस क्रममा १५ वटा मिनी डिजेल जेनरेटर (एमडिजी) , २० वटा ब्याट्री बैंक, २०० लिटर इन्धन र १० भन्दा बढी बीटीएस उपकरण प्रभावित साइटहरूमा पु¥याइएको छ ।
सयभन्दा बढी साइटमा नेटवर्क अप्टिमाइजेसन सम्पन्न गरिएको छ । कभरेज तथा क्षमता अप्टिमाइजेसनपछि कल सेटअप सफलता दर ९७ प्रतिशतभन्दा माथि पुगेको छ । अझै ४४ साइट पुनःस्थापना गर्न बाँकी छन्, जसमा नेपाल टेलिकमका ३८ र एनसेलका ६ साइट रहेका छन् ।
आपत्कालीन ‘वार रुम’ स्थापना 
हुवावेले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा आपतकालीन ‘वार रुम’ स्थापना गरी कार्य विभाजन तथा समन्वय सुनिश्चित गरिएको छ । यसमा हुवावे मुख्याालयका प्राविधिक विज्ञ टोलीको समेत सहभागिता छ । फाइबर लिंकमा क्षति पुगेपछि माइक्रोवेभ रिरुट गरी साइटहरूको विद्युत् आपूर्ति समेत पुनः व्यवस्थित गरिएको छ । पुनःस्थापनाका लागि हुवावे तथा प्राविधिक विज्ञ र सामग्रीहरूलाई हेलिकप्टरमार्फत परिचालन गरी दुर्गम हिमाली क्षेत्रका साइटहरूमा माइक्रोवेभ, एमडीजी तथा ब्याट्री पु¥याइएको छ ।
हुवावे तथा अपरेटरहरू तथा व्यवस्थापन टोलीसँग निरन्तर समन्वय गर्दै साइट पुनःस्थापनालाई तीव्र बनाउन रणनीतिक कार्ययोजनाको प्रभावकारी समायोजन गरिएको छ । टोलीले तत्कालका लागि टुजी कनेक्सन गरी फोन लाग्ने र एसएमएस पठाउन सकिने व्यवस्था मिलाएको जनाएको छ । अब बिस्तारै थ्रीजी र फोरजी कनेक्सन भएपछि मात्र इन्टरनेट कनेक्सनमा सहज हुने बताइएको छ । 
नेटवर्कको नयाँ कार्ययोजना 
४४ साइट पुनःस्थापनाको कार्ययोजना तयार गरिएको छ । जसमा पहिलो प्राथमिकतामा ३ साइटलाई एमडीजी हवाई ढुवानीमार्फत तथा ९ साइटलाई फाइबर लिंक पुनःस्थापनामार्फत सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।
ईएचएस (वातावरण, स्वास्थ्य तथा सुरक्षा) सुनिश्चिततालाई प्राथमिकता दिई फ्रन्टलाइन फिल्ड टोलीको स्वास्थ्य, सुरक्षा तथा कल्याण सुनिश्चित गर्दै सुरक्षित रूपमा कार्य सञ्चालन गरिने हुवावेका डेलिभरी सर्भिसका उपाध्यक्ष नवीन जीसीले स्पष्ट पारे । 
पुनःस्थापित साइटहरूको सेवा निरन्तरता तथा स्थायित्व सुनिश्चित गर्न थप ५ वटा फिल्ड टोली, २५ जनाभन्दा बढी जनशक्ति तथा ५ वटा सवारीसाधन स्यान्डबाइमा राखिनेछ ।
नेटवर्क स्रोतसाधनको विश्लेषण गरी आवश्यकताअनुसार थप स्रोतसाधन तथा नेटवर्क प्यारामिटरहरूमा सुधार तथा अप्टिमाइजेसन गरिनेछ । प्रभावित क्षेत्रमा देखिएको नेटवर्क कन्जेसन र ट्राफिक अवस्थाका आधारमा नेटवर्क क्षमता तथा कार्यसम्पादनलाई अनुकूलन गरिनेछ ।
पाँच दिनभित्र अधिकांश क्षेत्रमा नेटवर्क 
अहिले नेपाल–चीन सीमा नाका टिमुरेसम्म नै मोबाइल सेवा पुनः सञ्चालनमा आइसकेको छ । प्रतिकूल मौसम, भौगोलिक विकटता र यातायात सञ्जाल टुटेको अवस्थामा पनि हेलिकप्टरमार्फत प्राविधिक र सामग्रीहरू एयरलिफ्ट गरी दूरसञ्चार ब्युँताइएको यो घटना नेपालको विपद् व्यवस्थापन र दूरसञ्चार इतिहासमै एउटा उदाहरणीय प्रयास बनेको छ ।
नेपाल टेलिकम र एनसेलका गरी कुल १९८ भन्दा बढी बीटीएस टावरहरू बाढीका कारण पूर्ण वा आंशिक रूपमा बन्द भएकोमा अब समस्या नहुने गरी काम गरिएको हो ।  
पहाडी र हिमाली क्षेत्रलाई जोड्ने २० भन्दा बढी मुख्य फाइबर रुट पूर्वाधारहरू बाढी र पहिरोले बगाएपछि वा काटिएपछि नेटवर्कको मेरुदण्ड नै सञ्चालन हुन नसकेकोमा माइक्रोवेभ रिरुट गरिएको छ । नेपाल टेलिकमले विपद्भन्दा अगाडि नै विकल्पका रूपमा माइक्रोवेभ रिरुटको व्यवस्था गरेका कारण एनटीसीको नेटवर्कमा समस्या कम हुँदै गएको छ । एनसेलले खर्च कम गर्न फाइबरमा मात्र जोड दिएका कारण नेटवर्कमा अझै सुधार हुन सकेको छैन । 
नेटवर्क कन्जेसनको संकट
सेवा सुचारु रहेका क्षेत्रहरूमा पनि १५० भन्दा बढी सेलहरूमा अचानक अत्यधिक ट्राफिक चाप (कन्जेसन) बढ्न जाँदा प्रभावित क्षेत्रका नागरिक र उद्धार टोलीले एकै पटक नेटवर्क प्रयोग गर्न खोज्दा कल ड्रप हुने र डेटा नचल्ने समस्या चरम सीमामा पुगेको र अहिले त्यो समस्या अहिले अधिक रुपमा कम भइसकेको दाबी गरिएको छ । 
सञ्चारमा बाधाले अन्योल
विपद्को पहिलो ७२ घण्टा उद्धार र राहतका लागि सबैभन्दा महŒवपूर्ण मानिन्छ । तर, मुख्य प्रभावित क्षेत्रहरूमा मोबाइल नेटवर्क पूर्ण रूपमा ठप्प हुँदा स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली ठूलो अन्योलमा परेका थिए । कुन ठाउँमा कति क्षति भयो, कहाँ उद्धार टोली पठाउनुपर्ने हो र कसको अवस्था कस्तो छ भन्ने सूचना आदानप्रदान गर्न नपाउँदा उद्धारकर्ताहरू अलमलिन पुगेका थिए ।
त्यस्तै, बाढीका कारण प्रभावित भएका र विभिन्न ठाउँमा फसिरहेका नागरिकहरूले आफ्ना परिवारसँग सम्पर्क गर्न नपाउँदा आफन्तहरूमा चिन्ता र त्रास फैलिएको थियो । 
नेपाल टेलिकम 
नेपाल टेलिकमको कुल प्रभावित १२० टावरमध्ये १०६ वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने १४ वटा अझै अवरुद्ध अवस्थामै छन् । टेलिकमले आइतबार मात्र थप ७ वटा स्थानमा सेवा पुनः सुरु गर्न सफल भएको छ । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस टावरहरू सञ्चालनमा आइसकेका छन् ।
सबैभन्दा महŒवपूर्ण उपलब्धि भनेको नेपाल–चीन सिमाना (नाका), टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेंसीदेखि भोटेकोसी करिडोरसम्म टेलिकमले रसुवा बोर्डर बीटीएस टावरमार्फत सेवा सुरु गरिएको छ । यसले सीमा सुरक्षा, भन्सार कार्यालय र व्यापारिक क्षेत्रलाई पुनः सम्पर्कमा ल्याएको छ ।
एनसेलको प्रगति 
एनसेलतर्फ कुल प्रभावित ७८ टावरमध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने केवल ३ वटा टावर मात्र सुरु हुन बाँकी छ । एनसेलले नुवाकोट जिल्लामा रहेका आफ्ना सबै १६ टावरहरू पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेको छ ।
मर्मत हुन बाँकी ३ टावरमध्ये दुई वटा (नुवाकोटको एउटा र टिमुरेको एउटा) को भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । रसुवाकै अर्को एउटा टावरमा पुग्न हवाई मार्गबाट मात्र सामान पु¥याउन सम्भव भएकाले त्यहाँ पनि छिट्टै सेवा सुरु गर्ने प्रयास भइरहेको एनसेलले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्