नेभिगेशन
अर्थतन्त्र

जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार अभियान जारी

काठमाडौं। रसुवागढी आयोजनाबाट हराइरहेका ९३ जनाको खोजी कार्य सुरु गरिएको छ । उपकरण लिएर सम्पर्कविहीन भएकाहरूको खोजी गरिएको हो ।  शनिबारसम्म भौतिक रूपमा खोजी सुरु हुन नसके पनि आइतबार बल्ल उपकरणसहित उद्धार टोली विद्युतगृह पुगेको छ । चार दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ । हराइरहेकामध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ कर्मचारी, २ ज्यालादारी कर्मचारी, निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सि.डब्ल्यु.ई का ४ जना र भन्स कन्स्ट्रक्सनका ३ जना छन् । भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये ४ जना दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । उनीहरू काठमाडौं आइसकेका छन् । तीन जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए । 
लाङटाङ खोला आयोजनाबाट १९ जनाको पहिले नै उद्धार भइसकेको छ तर सुरुङमा फसिरहेका ४१ जनाको अझै उद्धार हुन सकेको छैन । निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारमा लागेको उपकरणसहितको नेपाली सेनाको टोली परिचालन भएको छ । टोलीले खोजतलास गरे पनि कुनै सफलता मिलेको छैन ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ (६० मेगावाट) मा आइतबार उद्धार टोली टनेल पोर्टलसम्म पुग्न सफल भएको छ । अहिले केबल टनेल पोर्टलको ड्रिल गरिएको भाग ठूलो बनाई उद्धारकर्मीलाई टनेल भित्र पस्न मिल्ने गरी प्वाल ठूलो बनाउने कार्य भइरहेको छ । केबल टनेल पोर्टल सफा गर्ने कार्य सम्पन्न भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र प्रवेश गराउने तयारी भइरहेको छ । उद्धारकर्मीले केबल टनेलभित्रको अवस्थाको प्रत्यक्ष निरीक्षण गर्दै सुरक्षित रूपमा अगाडि बढ्ने तयारी भैरहेको छ । टनेल भित्रको वास्तविक अवस्था बाहिरबाट समेत अवलोकन गर्न सकिने गरी क्यामेरासहित उद्धारकर्मीलाई पठाउने तयारी गरिएको छ । केबल टनेल पोर्टलबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित कार्यस्थल (पावर हाउसको टर्बाइन मेसिन हल) सम्म पुग्ने अनुमान गरिएको छ । कार्यस्थलसम्म पुगेपछि भित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, स्थान तथा सुरक्षाको स्थितिबारे थप यकिन जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । तत्काल उद्धार पश्चात उपचारसहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टिम तयारीका लागि नेपाली सेनासँग समन्वय गरिएको छ ।
चिलिमे जलविद्युत् आयोजनाको विद्युत्गृहमा फसेकाहरूको उद्धार आइतबार पनि हुन सकेन । आयोजनाको संरचना रहेको स्थलमा भारतीय प्राविधिक टोली समेतको सहभागितामा उद्धार कार्य प्रारम्भ गर्न थालिएकोमा पुनः आएको बाढीले बाँकी क्षेत्रमा अघिल्लो बाढीमा बचेका संरचना भत्काएपछि उद्धार कार्य रोकिएको छ । आइतबार आएको बाढीले इन्टेक एरियामा संरचना बगाएको छ । प्रवद्र्धक चिलिमे जलविद्युत कम्पनीका अनुसार विद्युतगृहमा फसेकाहरूको उद्धारमा सम्बन्धमा के गर्ने भन्नेबारे सोमबार निर्णय गरिने भएको छ ।
मैलुङ खोलाबाट हराइरहेका ७ जनाको अवस्था अझै अज्ञात छ । सरकारसँग पहल गर्दा पनि हराइरहेकाहरूको खोजी कार्य हुन सकिरहेको छैन । माथिल्लो त्रिशूली थ्री ‘बी’ मा फसेकाहरूको उद्धार कार्य आइतबार समेत जारी राखिए पनि सफलता मिल्न सकेको छैन । छिमेकी मुलुक चीनबाट आएको प्राविधिक टोली र नेपाली सेनाको टोली परिचालन गरिएको छ । आयोजनाको संरचना रहेको स्थानको पहिचान गर्ने काम मात्रै सुरु भएको छ ।
माथिल्लो त्रिशूली–१ मा फसेकाहरूको आइतबार पनि उद्धार हुन सकेको छैन । सुरक्षित स्थानमा बसेका २५४ जनाको उद्धार भए पनि हराइरहेकाहरूको खोजी कार्यमा कुनै प्रगति छैन । यो आयोजनाबाट ५७६ जना हराइरहेकोमा सुरुङमा मात्रै ३०० जना थुनिएको अनुमान छ ।
उद्धार कार्यमा नेपाली सेना, सम्बन्धित कम्पनीहरू र प्राविधिक टोलीहरू सक्रिय रूपमा संलग्न छन् । बाढीले पु¥याएको क्षति र हराइरहेका व्यक्तिहरूको खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्