नेभिगेशन
अर्थतन्त्र
सहकारी संस्थाका रकम अपचलन

मागदाबी ३९ अर्ब ९३ करोड, फिर्ता ८३ करोड

समस्याग्रस्त २२ सहकारीमा ६२ हजार बचतकर्ताको बचत घोटाला, फिर्ता बल्ल २.०९ प्रतिशत

काठमाडौं । समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाका बचतकर्ताको अर्बौं रुपैयाँ फिर्ता गर्ने प्रक्रिया अत्यन्त सुस्त देखिएको छ । समस्याग्रस्त २२ सहकारीका ६२ हजार ७ सय ६० बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७ सय १० रुपैयाँ फिर्ताका लागि मागदाबी गरेका छन् । तर अहिलेसम्म ८३ करोड ६५ लाख २० हजार ८ सय ७४ रुपैयाँ मात्रै बचतकर्ताको खातामा फिर्ता वा हिसाब मिलान भएको पाइएको छ ।
यो कुल मागदाबीको करिब २.०९ प्रतिशत मात्रै हो । अर्थात् समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाउनुपर्ने रकमको ९७ प्रतिशतभन्दा बढी हिस्सा अझै बाँकी छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव रविन ढकालका अनुसार  समस्याग्रस्त घोषित २२ वटा सहकारीका कुल ६२ हजार ७६० जना दाबीकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ मागदाबी गरेका छन् । यसमध्ये हालसम्म १ हजार २ सय ९९ जना बचतकर्ताले मात्र आफ्नो सम्पूर्ण मागदाबी रकम फिर्ता पाउन सकेका छन् । बाँकी ५८ हजार २८८ जना बचतकर्ताहरू अझै पनि आफ्नो सम्पूर्ण बचत रकम फिर्ता पाउने पखाईमा छन् ।
ऋण असुली झन् निराशाजनक
सहकारीहरूको लगानीमा रहेको ऋण असुलीको अवस्था झनै दयनीय छ । समस्याग्रस्त २२ सहकारीके ऋणी संख्या १३ हजार ७५जनाबाट कुल सावा ऋण रकम २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७९४ रुपैयाँ उठाउन बाँकी छ । तर, हालसम्म मात्र ३ सय ३४ जना ऋणीबाट १० करोड २ लाख २५ हजार ९३७ रुपैयाँ मात्र ऋण असुल हुन सकेको छ । यो ऋणी संख्याको आधारमा केवल २.५५ प्रतिशत मात्र असुली हो ।
ठूला सहकारीको प्रगति शून्यप्रायः, ३ वटाको मात्र राफसाफ
विवरण अनुसार केवल तीनवटा साना सहकारीहरू कुबेर बचत तथा ऋण सहकारीको मागदाबी ५७ लाख ६३ हजार ४६७, स्टाण्डर्ड मल्टिपर्पोजको मागदाबी ७५ लाख २८ हजार ८२४ र चार्टर्ड सेभिङ एण्ड क्रेडिटको मागदाबी ८४ लाख ११ हजार ४९४ ले मात्र शतप्रतिशत बचत फिर्ता गरी राफसाफ गरेका छन् ।
अर्कोतर्फ, अर्बौं रुपैयाँ सर्वसाधारणको बचत अपचलन गरेका ठूला सहकारीहरूको बचत फिर्ताको प्रगति भने शून्यप्रायः छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारीको कुल ९ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपैयाँ मागदाबी भएकोमा बचत फिर्ताको प्रगति केवल ०.०८ प्रतिशत मात्रै छ । यसैं गरी  लालीगुराँस बहुउद्देश्यीय सहकारीको ७ अर्ब १७ करोड २७ लाख ५९ हजार ८८४ रुपैयाँ मागदाबी भएकोमा बचत फिर्ताको प्रगति शून्य छ ।
कान्तिपुर सेभिङ एण्ड क्रेडिटको पनि ६ अर्ब ७८ करोड ५१ लाख ५ हजार ४५४ रुपैयाँ मागदाबी भएकोमा हालसम्म बचत फिर्ता प्रगति शून्य नै रहेको छ । 
गोरखा सेभिङ एण्ड क्रेडिटको ३ अर्ब २३ करोड ४८ लाख ४५ हजार ३८ रुपैयाँ मागदाबीमा हालसम्म बचत फिर्ता प्रगति शून्य छ । 
गौतमश्री बहुउद्देश्यीय सहकारीको ३ अर्ब १ करोड ४ लाख ५३ हजार ३६० रुपैयाँ मागदाबी भएकोमा प्रगति केवल ०.०१ प्रतिशत मात्रै प्रगति रहेको छ । 
ओरेण्टल को–अपरेटिभको भने ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ मागदाबी भएकोमा ७ दशमलव ५१ प्रतिशत मात्र बचत फिर्ता भएको छ ।
कृषि विकास बहुउद्देश्यीय सहकारीको २ अर्ब ८२ करोड २७ लाख ८७ हजार ७९३ रुपैयाँ, पशुपति सेभिङ एण्ड क्रेडिटको १ अर्ब ११ करोड ४८ लाख ३ हजार ६१८ रुपैयाँ, तुलसी बहुमुखी सहकारीको १ अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपैयाँ मागदावीमा शुन्य प्रगति रहेको छ ।  

तीन अर्बभन्दा बढी मागदाबी, फिर्ता अत्यन्त न्यून
ओरेण्टल को–अपरेटिभ लिमिटेडका ४ हजार २ सय ५९ बचतकर्ताले ३ अर्ब १९ करोड ५० लाख २८ हजार ६ सय २ रुपैयाँ मागदाबी गरेका छन् । संस्थाबाट २४ करोड रुपैयाँ फिर्ता भएको विवरणमा देखिन्छ । यसअनुसार २ अर्ब ९५ करोडभन्दा बढी रकम अझै फिर्ता हुन बाँकी छ । फिर्ता पाउने बचतकर्ताको संख्या ६ सय १ मात्रै छ ।
त्यस्तै गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका २ हजार ५ सय ९४ बचतकर्ताले ३ अर्ब २३ करोड ४८ लाख ४५ हजार ३८ रुपैयाँ मागदाबी गरेका छन् । तर फिर्ता भएको रकम १३ लाख २७ हजार ८ सय १६ रुपैयाँ मात्रै छ ।
कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा २ हजार ५ सय ३१ बचतकर्ताको २ अर्ब ८२ करोड २७ लाख ८७ हजार ७ सय ९३ रुपैयाँ मागदाबी रहेको छ । उक्त रकममध्ये अहिलेसम्म फिर्ता भएको विवरण देखिँदैन ।
कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीको ऋण रकम ३ अर्ब ७४ करोड ६४ लाख ८३ हजार ८ सय २७ रुपैयाँ छ । त्यसबाट ३७ लाख १५ हजार ३ सय २५ रुपैयाँ मात्रै असुल भएको छ ।
त्यस्तै श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीमा ३ अर्ब ४४ करोड ९७ लाख ७९ हजार २ सय ४६ रुपैयाँ ऋण देखिएको छ । असुल भएको रकम भने २ लाख १४ हजार ९६ रुपैयाँ मात्रै छ ।
नयाँ घोषित सहकारीमा पनि ठूलो दायित्व
समस्याग्रस्त घोषणा भएका पछिल्ला सहकारीमा पनि बचतकर्ताको ठूलो रकम अड्किएको विवरण रहेको छ । 
पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका १ हजार ४२ बचतकर्ताले १ अर्ब ११ करोड ४८ लाख ३६ हजार १ सय १८ रुपैयाँ मागदाबी गरेका छन् । अहिलेसम्म ४५ हजार ७ सय ५१ रुपैयाँ मात्रै असुली भएको देखिन्छ ।
तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडमा ५ हजार ४ सय ४३ बचतकर्ताको १ अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपैयाँ मागदाबी रहेको छ । 
गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १ हजार ६ सय ७३ बचतकर्ताले ३ अर्ब १ करोड ४ लाख ५३ हजार ६ सय रुपैयाँ मागदाबी गरेका छन् । अहिलेसम्म १ लाख ६६ हजार ४ सय रुपैयाँ मात्रै फिर्ता भएको तथ्यांक रहेको छ । 
बचत फिर्ताको जिम्मेवारी, तर स्रोत कहाँबाट ?
समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने क्रममा मुख्य चुनौती संस्थाको सम्पत्ति, ऋण असुली र उपलब्ध नगदबीचको ठूलो अन्तर देखिएको छ । उपलब्ध विवरणले मागदाबी ३९ अर्ब ९३ करोड रुपैयाँभन्दा माथि रहेको देखाए पनि फिर्ता वा हिसाब मिलानका लागि जम्मा ८३ करोड ६५ लाख रुपैयाँ हाराहारीमा मात्रै प्रगति भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव रविन ढकालका अनुसार  २२ समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय ६० मागदाबीकर्तामध्ये १ हजार २ सय ९९ जनाको मात्रै रकम फिर्ता वा हिसाब मिलान भएको छ । अर्थात् करिब ५८ हजार २ सय ८८ बचतकर्ता अझै रकम फिर्ताको पर्खाइमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्