नेभिगेशन
अर्थतन्त्र

बाढीले बिमा कम्पनीलाई २५ अर्बको धक्का

५२ आयोजनामा २० अर्बको दाबी, सवारीसाधन क्षतिका दाबी धेरै

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले १५ वटा निर्जीवन बिमा कम्पनीमा मात्रै २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको दाबी पुगेको छ । दाबीको ठूलो हिस्सा भने सर्वसाधारणका घर, सवारीसाधन वा व्यापारिक सम्पत्तिमा नभई ठूला इन्जिनियरिङ तथा पूर्वाधार परियोजनामा केन्द्रित छ ।
नेपाल बिमा प्राधिकरणमा सोमबारसम्म प्राप्त विवरणअनुसार ५८३ वटा बिमालेखबाट कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँका प्रारम्भिक दाबी परेको हो । प्राधिकरणको विवरणमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत मात्रै ५२ वटा दाबीबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ माग गरिएको छ ।
बिमा प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार कुल बिमा दाबी रकमको झण्डै ८० प्रतिशत हिस्सा इन्जिनियरिङ तथा ठेकेदार जोखिममै छ । दाबी संख्याका हिसाबले यो मोटर बिमाभन्दा निकै कम भए पनि रकमका हिसाबले सबैभन्दा अगाडि छ । 
प्राधिकरणले मंगलवार सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक हो । सूचना अधिकारी थापाले स्थलगत सर्वेक्षण, प्राविधिक मूल्यांकन तथा बिमालेखका सर्त परीक्षणपछि दाबी रकम बढ्न वा घट्न सक्ने बताए । अहिलेसम्मको तथ्यांकले नै यो बाढी नेपाली निर्जीवन बिमा बजारमा परेको सबैभन्दा ठूलो प्राकृतिक विपद्का दाबीमध्ये एक बनेको उनले बताए । 
८ वटा दाबी, १३ अर्बको भार
बिमकअनुसार सबैभन्दा ठूलो प्रारम्भिक दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा आठवटा बिमालेखबाट मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको दाबी परेको छ ।
दाबी संख्याका हिसाबले हेर्दा आठवटा मात्र भए पनि रकमका हिसाबले यो कुल प्रारम्भिक दाबीको आधाभन्दा बढी हो । 
यसपछि युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँको दाबी परेको छ । सानिमा जीआईसी इन्स्योरेन्समा १०२ वटा दाबीबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा दाबीबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार र शिखर इन्स्योरेन्समा १२७ वटा दाबीबाट १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
यी पाँच कम्पनीमै परेको प्रारम्भिक दाबी रकमले कुल दाबीको ठूलो हिस्सा ओगटेको छ । 
मोटरमा दाबी धेरै, रकममा इन्जिनियरिङ अगाडि
बाढीपछि बिमा कम्पनीमा सबैभन्दा धेरै संख्यामा दाबी मोटर बिमाबाट आएका छन् । मोटर बिमामा ३१३ वटा दाबी दर्ता भएका छन् । तर ती दाबीको कुल रकम १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ छ ।

यसको विपरीत इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा ५२ वटा मात्रै दाबी छन् । तर रकम २० अर्ब ५० करोडभन्दा बढी छ ।
सर्वसाधारण र व्यवसायका धेरै सवारीसाधनमा क्षति पुगेको भए पनि ठूला परियोजनामा भएको सीमित संख्याको क्षतिले नै समग्र बिमा दायित्वलाई अर्बौं रुपैयाँले बढाएको छ ।
सम्पत्ति बिमामा ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ । त्यस्तै परिवहन बिमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको दाबी छ । अन्य बिमा विधामा ५४ वटा दाबीबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।
स्वास्थ्य बिमामा चारवटा दाबी परेको र प्रारम्भिक रकम ४१६ लाख रुपैयाँ रहेको प्राधिकरणको तालिकामा उल्लेख छ ।
शिखरमा सबैभन्दा धेरै दाबी संख्या
बीमकअनुसार दाबीको संख्या र रकमको तस्वीर पनि फरक छ । शिखर इन्स्योरेन्समा १२७ वटा दाबी छन्, जुन उपलब्ध विवरणमा सबैभन्दा धेरै हो । तर रकम १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ मात्रै छ ।
सानिमा जीआईसीमा १०२, सिद्धार्थ प्रिमियरमा ६७ र नेको इन्स्योरेन्समा ६६ वटा दाबी छन् । नेकोमा ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ वटा दाबीबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँ, सगरमाथा लुम्बिनीमा ३२ वटा दाबीबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्समा ३२ वटा दाबीबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
आईजीआई प्रुडेन्सियलमा २६ वटा दाबीबाट १८ करोड ७३ लाख ४ हजार र एनएलजी इन्स्योरेन्समा २१ वटा दाबीबाट ११ करोड ३१ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको विवरण छ ।
प्रभु इन्स्योरेन्समा १४ वटा दाबीबाट ३ करोड १२ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीमा दुईवटा दाबीबाट ७६ लाख र नेशनल इन्स्योरेन्समा दुईवटा दाबीबाट ५३ लाख ३५ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ । नेपाल माइक्रो इन्स्योरेन्समा भने एउटा दाबीबाट पाँच लाख रुपैयाँको दाबी परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्