काठमाडौँ । नेपाली संघ (एनआरएनए) को स्थापना दिवस तथा विजया दशमी, दीपावली र छठ पर्वको पावन अवसरमा पूर्व अध्यक्षहरू र संघका नेतृत्वकर्ताहरूबीच एक बृहत् भर्चुअल अन्तरक्रिया तथा शुभकामना साटासाट कार्यक्रम सम्पन्न भएको छ ।
"हाम्रो विगतको सम्मान, हाम्रो भविष्यको निर्माण" भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघको स्थापनाकालदेखिको अनुभव आदानप्रदान गर्दै आन्तरिक एकता सुदृढ बनाउने र मातृभूमिको समृद्धिमा डायस्पोराको स्रोत, साधन र ज्ञान परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा संघका संस्थापक, पूर्व अध्यक्षहरू तथा वर्तमान पदाधिकारीहरूले राखेको मन्तव्यको संक्षिप्त विवरण:
डा. हेमराज शर्मा (अध्यक्ष)- "विगतका साना-तिना असमझदारी र सङ्क्रमणकालीन अवस्थालाई पछाडि पार्दै संघले हालैका दिनमा रसुवा, नुवाकोट, बाग्लुङ लगायतका बाढी-पहिरो प्रभावित क्षेत्रमा ४५ दिनसम्म खटिएर राहत वितरण र स्वास्थ्य शिविर सञ्चालन गरी प्रत्यक्ष सहयोग पुर्याएको छ । राज्य र एनआरएनएबीचको दूरी कम गर्न तथा नागरिकता, भोटिङ अधिकार र सामूहिक लगानीका विषयमा निरन्तर संवाद भइरहेको छ । वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधन आवश्यक रहेको र तत्कालका व्यावहारिक समस्या फुकाउन विद्यमान कानुनी व्यवस्थाको उपयोग गर्दै सबैलाई समेटेर अघि बढ्न वर्तमान नेतृत्व प्रतिबद्ध छ ।
"डा. उपेन्द्र महतो (संस्थापक अध्यक्ष)- "सन् २००३ मा जुन पवित्र उद्देश्यका साथ यो अभियान सुरु गरिएको थियो, त्यसले छोटो समयमै ठूलो उचाइ हासिल गरेको छ। विगतका केही वर्षमा देखिएका आन्तरिक विवाद र अल्झनले संस्थालाई पछाडि धकेले पनि यसले हामीलाई बलियो र एकताबद्ध भइरहनुपर्ने पाठ सिकाएको छ । गैरआवासीय नेपालीको इज्जत र सम्मान संस्थाको मजबुतीसँग जोडिएकाले आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरी एकताको सन्देश दिनुपर्छ । साथै, गैरआवासीय नेपालीको पुँजी र दोस्रो पुस्ताको ज्ञान तथा सीपलाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्न जोड दिनुपर्छ।
"डा. जीवा लामिछाने (पूर्व अध्यक्ष)-"नीतिगत विषयमा विचार फरक भए तापनि विगतमा हामी सधैँ संस्थाको बृहत्तर हितका लागि एकै बिन्दुमा आइपुग्ने गर्थ्यौँ। पछिल्ला केही समयमा खस्केको संस्थाको साख र गरिमालाई वर्तमान नेतृत्वले राहत तथा उद्धारका माध्यमबाट पुनः जगाउन थालेकोमा खुसी लागेको छ। गैरआवासीय नेपालीको व्यक्तिगत क्षमताभन्दा सामूहिक शक्ति (कलेक्टिभ स्ट्रेन्थ) धेरै गुणा शक्तिशाली हुने भएकाले सामूहिक लगानी र सहकार्यका क्षेत्रलाई प्राथमिकता दिनुपर्छ।
"भवन भट्ट (पूर्व अध्यक्ष)- "एनआरएनए एउटा विश्वव्यापी र गतिशील संस्था भएकाले यसमा देखिने समस्या र चुनौतीहरूलाई सिकाइको अवसर (लर्निङ प्रोसेस) का रूपमा लिनुपर्छ । आफ्नो कार्यकालमा लाप्राक बस्ती निर्माण, विज्ञ सम्मेलन र १०० मिलियन डलरको फन्ड स्थापना जस्ता दूरगामी कामहरू भएको स्मरण गर्दै अब संस्थालाई दुईवर्षे कार्यकालको समय अभावबाट मुक्त गराउन संरचनागत सुधार र प्रविधिमैत्री मेकानिजम बनाउन आवश्यक छ।
"महेश श्रेष्ठ (पूर्व अध्यक्ष)- "विगतका विवाद र बेमेलले गर्दा सरकार तथा राजनीतिक वृत्तमा एनआरएनएप्रति नकारात्मक दृष्टिकोण बनेको भए पनि हालैको एकता प्रक्रियाले सकारात्मक सन्देश दिएको छ। नेपालमा वैदेशिक लगानीको सम्भावना कमजोर भइरहेको वर्तमान अवस्थामा गैरआवासीय नेपालीहरूको सामूहिक लगानी नै नेपालको समृद्धिको मुख्य आधार बन्नसक्छ । १० अर्बको डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी र एनआरएन नेपाल डेभलपमेन्ट फन्ड जस्ता पहलहरूलाई प्रभावकारी बनाएर सरकारको विश्वास पुनः आर्जन गर्नुपर्छ ।
"डा. बद्री केसी (पूर्व अध्यक्ष)- "सन् २००१ देखि मस्कोबाट सुरु भएको यो विचार आज ९२ भन्दा बढी देशमा फैलिएको छ । 'बाइ नेपाली फर नेपाली' र 'एकपटकको नेपाली, सधैँको नेपाली' भन्ने मन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। एनआरएनएकै पहलका कारण नेपालमा गैरआवासीय नेपाली ऐन र वैदेशिक रोजगार ऐन लागू भई लाखौँ वैदेशिक रोजगारमा रहेका नेपालीहरूको अधिकार र सुरक्षा सुनिश्चित भएको हो । संस्थागत एकता कायम राख्दै वैदेशिक रोजगारीका समस्या समाधान र डायस्पोराको अधिकारका लागि लडिरहनुपर्छ ।
"विनोद कुँवर (पूर्व अध्यक्ष)- “एनआरएनएमा हालै भएको एकता प्रक्रियालाई पूर्णता दिन विगतमा गरिएका सहमति र प्रतिबद्धताहरू कार्यान्वयन गर्न आवश्यक छ । एकताका क्रममा सम्बोधन गर्न बाँकी रहेका विषयलाई वर्तमान नेतृत्वले खुला मनले समाधान गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्छ। गैरआवासीय नेपाली नागरिकता मागेर होइन, नेपाल र नेपालीका लागि गरेको योगदान तथा कामबाट आफ्नो अधिकार स्थापित गरेर प्राप्त गर्नुपर्छ। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र सामूहिक लगानीलाई नेपालको विकास र समृद्धिसँग जोड्न सके देशले लाभ लिन सक्छ।”
आर. के. शर्मा (पूर्व अध्यक्ष)- “गैरआवासीय नेपाली संघले आगामी १० वर्षका लागि स्पष्ट र ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । नेतृत्व केन्द्रित नभई एजेन्डा केन्द्रित संस्था निर्माण गर्दै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न आवश्यक छ । रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको अवस्थामा सामूहिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ र एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई साना लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको हितसँग जोड्नुपर्छ। संघको एकता प्रक्रियामा सहमति भएका प्रतिबद्धतामध्ये अझै सम्बोधन हुन बाँकी विषयलाई पूरा गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्छ । गैरआवासीय नेपाली नागरिकता मागेर मात्र होइन, विदेशमा रहेका नेपालीले नेपालका लागि गरेको योगदान र भविष्यमा गर्न सक्ने काम प्रस्तुत गरेर अधिकार स्थापित गर्नुपर्छ। आगामी दिनमा व्यक्ति होइन, एजेन्डा बलियो बनाउँदै संघलाई राष्ट्रप्रति उत्तरदायी र नेपालको विकासको भरपर्दो साझेदारका रूपमा अघि बढाउनुपर्छ।”
कार्यक्रममा अमेरिका, हङकङ लगायत विश्वभरका प्रतिनिधिहरू भुवन खरेल, परशुराम भण्डारी, कृष्ण पाण्डे, उपमहासचिव कृष्ण पोखरेललगायतले संघको सुदृढीकरण, कृषि तथा कफी खेती जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी, र दोस्रो पुस्तालाई संस्थामा जोड्ने विषयमा आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए ।
३ घण्टासम्म चलेको उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रमको सञ्चालन तथा सहजीकरण महासचिव डा चिरन्जीवी खड्का, तथा उपमहासचिव दिनेश घिमिरे, डा. नवराज रौसियार र दीपक गौतमले गरेका थिए ।