नेभिगेशन
अर्थतन्त्र

इप्पानद्वारा १३ करोड १ रुपैयाँ हस्तान्तरण

काठमाडौँ  । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी १२ वटा विद्युत् आयोजनाका संरचना ध्वस्त भएका छन् भने अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ  । अरबौं रुपैयाँको लगानी, वर्षौंको मेहनत र आधुनिक प्रविधिबाट निर्माण भएका जलविद्युत् तथा प्रसारण प्रणालीका संरचना केही क्षणमै बाढीले बगाएको छ  । 
जलविद्युत् आयोजना तथा भौतिक संरचनाको क्षतिसँगै ऊर्जा क्षेत्रमा कार्यरत दक्ष इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारहरूलाई समेत गुमाउनुपरेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) गहिरो दुःख व्यक्त गरेको छ । 
यसैबीच इप्पानको पहलमा भएको आह्वानमा इप्पान सम्बद्ध कम्पनीहरूका तर्फबाट विनाशकारी हिम बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि १३ करोड १ रुपैयाँ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको छ  । आह्वानपछि इप्पान र इप्पान सम्वद्ध कम्पनीहरूले बाढी प्रभावितको उद्धार, पुर्ननिर्माण र पुर्नस्थापनाका लागि ५० हजारदेखि १ करोड ६५ लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन्  । इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले मंगलबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहयोग रकमको एक मुष्ट रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।  
सहयोग रकम हस्तान्तरण गर्दै इप्पान अध्यक्ष डाँगीले भोटेकोशी महाविपत्तिमा निजी क्षेत्रका विद्युत आयोजनाहरू आफै ठूलो क्षतिमा परेको अवस्थामा समेत इप्पान र आवद्ध विद्युत कम्पनीहरूले पीडित नागरिकका लागि उदारतापूर्वक सहयोग गरेको बताए । ‘विपद्को समयमा निजी क्षेत्रका आफ्नै विद्युत आयोजनाहरू बगेर ठूलो क्षति भएको अवस्थामा पनि हामीले आफ्नो पीडालाई केही समयका लागि बिर्सेर अझ ठूलो पीडामा रहेका नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेका हौं । राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व हो  । यस्तो विपदमा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार छ ।’ उनले भने ।
मन्त्री श्रेष्ठले इप्पान र यससँग आबद्ध विद्युत् कम्पनीहरूले आफ्नै आयोजनाहरूमा ठूलो क्षति व्यहोरेको अवस्थामा समेत पीडित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै इप्पानबाट प्राप्त सहयोगले सरकारको उद्धार, पुनःस्थापना र पुनःनिर्माणको अभियानमा थप मनोबल बढेको उल्लेख गरे । उनले विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रलगायत सबै पक्षको सहकार्य आवश्यक रहेको बताए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्