पोखरा, २ असोज - जेनजी आन्दोलनका क्रममा विध्वंशकारीको पहिलो निसानामा थियो कास्की जिल्ला अदालत । अदालत प्रशासनका अनुसार तोडफेडमा उत्रेकाहरूले सुरुमा तीन नम्बर फाँटमा आगजनी गरेका थिए । यो त्यही फाँट हो जसले रवि लामिछानेको सहकारी ठगीको मुद्दा हेर्थ्यो ।
आगजनीबाट ध्वस्त भएको भवन, जलेर राख भएका सवारीसाधनको थुप्रो, यत्रतत्र मिल्किएका र जलेका कागजातहरू देख्दा दूधको दूध पानीको पानी छुट्याई पीडितलाई न्याय र पीडकलाई सजाय दिने यो न्यायमूर्ति नै अहिले आफ्नै न्यायको याचना गरिहेको छ ।
भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनको भोलिपल्ट दिनको ४ बजेतिर एउटा भिड अदालत प्रवेश ग¥यो । सिधै तीन नम्बर फाँट कहाँ हो भन्दै त्यो फाँटमा आगजनी गरेको थियो । तीन नम्बर फाँटमा सहकारी ठगीमा पुर्पक्षका लागि कारागारमा रहेका रवि लामिछानेको मुद्दा थियो ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले तीन नम्बर फाँटबाट सल्केको आगो केहीबेरमै सिंगो अदालतमा फैलियो । प्रदर्शनकारीले अदालत भित्रका फर्निचर र कागजात संकलन गररे अदालतभित्रै आगजनी गरेका थिए । अहिले चलिआएका ३५ सय मुद्दामध्ये तीन हाजार मुद्दाको मिसिल जलेका छन् भने अहिलेसम्म फैसला भएका ७० हजार मुद्दाको झण्डै ५० प्रतिशत अभिलेख नष्ट भएको छ ।
अहिले अदालत परिसरको सरसफाइको काम चलिरहेको छ भने सुरक्षित रहेका अभिलेखको व्यवस्थापनको काम भइरहेकको छ । पूर अदालत ध्वस्तै भएका कारण अति आवश्यक पक्राउ पुर्जी, म्याद थप र सामान्य थुनछेकबाहेक नियमित कामकारवाही कहिलेबाट सुरु हुन्छ टुंगो नभएको अदालतका सूचना अधिकारी किसानले बताए ।
अदालतसँगै अदालत परिसरमै रहेको जिल्ला बार एशोसिएसनको कार्यालय पनि नष्ट भएको छ । नेपालकै इतिहासमा कहिल्यै नभएको न्याय प्राणली माथिको भौतिक आक्रमणले सिंगो देशको न्याय प्राणालीलाई अस्तव्यस्त त बनाएको नै छ, त्यससँगै पीडित थप पीडित बन्ने र पीडक उम्कने खतरा बढेको छ ।