नेभिगेशन
अर्थतन्त्र

नेपाली मूलकी उद्यमी अरुणा अधिकारीद्वारा काइरोसहेलिक्स स्थापना

काठमाडौंं । अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनीद्वारा आर्टिफिसियल इन्टेलिजेन्स, गणित तथा प्रमाणमा आधारित प्रणालीको संयोजनमार्फत जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई संकलन, एकीकृत र पुनःप्रयोग गर्न सहयोग गर्ने प्रविधिको विकास गरिएको छ । 
नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी काइरोसहेलिक्स स्थापना गरेकी छन् । कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई कसरी संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।
काइरोसहेलिक्सले आर्टिफिसियल इन्टेलिजेन्स, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीहरूको संयोजनमार्फत संचित क्लिनिकल ट्रायलसम्बन्धी ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको जनाइएको छ । 
कम्पनीले हालसम्म २५ सदस्यीय टोली गठन गरिसकेको छ भने क्लिनिकल ट्रायल इन्टेलिजेन्ससम्बन्धी कार्यशील प्लेटफर्म विकास गरिसकेको उल्लेख गरेको छ । 
कम्पनीको दृष्टिकोण अधिकारीको गणित, इन्जिनियरिङ, उद्यम प्रविधि तथा क्लिनिकल अनुसन्धान क्षेत्रमा रहेको बहुआयामिक अनुभवबाट आकार लिएको हो । १६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी अधिकारीले गणित र प्रविधिप्रतिको आफ्नो रुचिलाई निरन्तर अगाडि बढाउँदै विभिन्न क्षेत्रमा काम गरिन्, जसले उनलाई क्रमशः क्लिनिकल अनुसन्धानका जटिलतासँग नजिकबाट परिचित गरायो।
सन् २०२४ मा, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा गरेको कामका लागि अधिकारीलाई फर्मा भ्वाइस १०० मा समेत सम्मानित गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्