नेभिगेशन
अर्थतन्त्र

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास निरन्तर जारी राखेको छ ।
भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पु¥याउन चुनौतीपूर्ण भइरहेको नेपाली सेनाले उल्लेख गरेको छ । 
हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटेका छन् ।  २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ । तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पु¥याउनु अत्यावश्यक रहेको सेनाको भनाई छ । 
एक्स्काभेटर पु¥याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिवारदेखि पहुँच सडक निर्माणको काम अघि बढाइएको छ । सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पमा पनि करिब १०० मिटर भागमा रहेको माटो हटाउने काम भइरहेको जनाइएको छ ।
ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पु¥याउने प्रयास पनि जारी राखेको छ ।
चुनौती र कठिन रहेको तर उद्धार प्रयास नरोकिएको जनाइएको छ । पहुँच विस्तार, उपकरण परिचालन र उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको पनि उल्लेख गरिएको छ । 
यसैंबीच जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको जनाइएको छ ।   स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ ।
स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ । ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको हुँदा सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा समेत क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको छ ।
सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई जोखिमको मूल्याङ्कन, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धारको रणनीति तय गर्न यो प्रविधिले महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ प्रविधिको प्रयोगले सुरुङभित्र उद्धारकर्तालाई प्रत्यक्ष प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।
 जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटना र विपद्का घटनामा खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो अत्याधुनिक प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्