नेभिगेशन
अर्थतन्त्र

बाढी प्रभावित क्षेत्रमा निर्माण व्यवसायीले पूर्वाधार निर्माणमा सहयोग गर्ने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन एवं निरीक्षण गरेको छ । 
महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिहरूसँगै देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाटलगायतका क्षेत्रमा बाढीका कारण भएको व्यापक क्षतिका बारेमा जानकारी लिएको छ । स्थलगत निरीक्षणपछि तत्काल ढुङ्गेको बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशुली बजार जोड्ने गरी २ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्दा नुवाकोटसहित छिमेकी जिल्लाका ५० हजार भन्दा बढी स्थानीय लाभान्वित हुने देखिएपछि महासंघले पूर्वाधार मन्त्रालयसँगको समन्वयमा उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । मन्त्रालयका प्राविधिक विज्ञहरूसँगको परामर्शमा पुल निर्माण कार्यलाई अघि बढाइने महासंघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पतालसहित किसपाङ्ग र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका वडा नम्बर ७, ८, ९ र ३ का केही भूभागसँग विच्छेद भएको सम्पर्क पुर्नस्थापना भई हजारौं लाभान्वित हुने स्थानीयको भनाइ छ । 
महासंघ अध्यक्ष पाण्डे नेतृत्वको प्रतिनिधिमण्डललाई विदुर नगरपालिकाका प्रमुख, जिल्लास्थित नेपाली सेनाका उच्च पदस्थ अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखले बाढीका कारण नुवाकोटमा भएको क्षति र अबको निकासबारे अवगत गराएका थिए । महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष पाण्डेसँगै महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्य समिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्र कुमार खड्का रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्