नेभिगेशन
अर्थतन्त्र

निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छः अध्यक्ष श्रेष्ठ

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने बताएाक छन् । 
 पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रमैत्री वातावरण आवश्यक भएकोमा जोड दिए ।  
निजी क्षेत्रमाथि अत्यधिक नियमन र नियन्त्रणको सोचले लगानी निरुत्साहित हुने भन्दै उनले सरकार नियामक र सहजीकरण गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताए ।  लामो समयदेखि बन्द उद्योग सञ्चालनका लागि सरकारले चाहे सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सक्ने उनको सुझाव थियो । अध्यक्ष श्रेष्ठले युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न नेपालले उपलब्ध जनसांख्यिकीय लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । 
हतारमा कानुन निर्माण गर्ने प्रवृत्तिले निजी क्षेत्रलाई समस्या पारिरहेको उल्लेख गर्दै उनले कानुन तथा नीति निर्माणमा निजी क्षेत्रसँग पर्याप्त छलफल र समय दिनुपर्ने बताए । महासंघले एकिकृत कर कानूनका लागि कर संहिताका लागि पहल गरिरहेको र उधारो कारोबारसम्बन्धी कानुनको मस्यौदा तयार गरी छिट्टै सरकारलाई बुझाउने तयारी गरेको जानकारी दिए । 
नेपाल चीन बीचका दुई प्रमुख नाकामा अवरोध देखिएको अवस्थामा कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयमा महासंघले पहल गरिरहेको जानकारी दिँदै उनले यस विषयमा चिनियाँ राजदूतसँग समेत छलफल भएको र भौगोलिक अवस्थितीका कारण प्राविधिक सम्भाव्यतासहित अध्ययन गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो । 
अध्यक्ष श्रेष्ठले सेवा सुदृढीकरण तथा विस्तार, आर्थिक विकास तथा पुनःउत्थान र प्रतिस्पर्धात्मक क्षमता वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राख्दै महासंघले ६ स्तम्भ र ६० पहलमार्फत निजी क्षेत्रको क्षमता विस्तार र आर्थिक रूपान्तरणमा काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्