नेभिगेशन
मनोरञ्जन

अस्कर अवार्डमा 'अञ्जिला’ सिफारिस, ‘गुन्यो चोलो’ को आपत्ति

एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र 'अञ्जिला’ले गर्ने भएको छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औं 'अस्कर अवार्ड’अन्तर्गत 'अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट 'अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै 'अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘चलचित्रको गहन मूल्यांकनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौं ।’

चलचित्र 'अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गरेको यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।

‘नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र संघर्षलाई समेटेर चलचित्र तयार गरेका हौं । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको संघर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ,’ निर्माता श्रेष्ठले भने ।

चलचित्र 'अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाब राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले नौ करोड रुपैयाँको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।

यसबीच, यस फिल्मको विरोधमा फिल्म निर्माता समुद्र भट्टले अस्कर अवार्डमा फिल्म चयनलाई लिएर आपत्ति जनाएकी थिइन् । ‘गुन्यो चोलो’ फिल्मकी निर्देशक समुद्रले ‘अञ्जिला’भन्दा आफ्नो फिल्म सबल, मौलिक र प्रभावकारी प्रस्तुति रहेको दाबी गर्दै अस्कर कमिटीको ध्यानाकर्षण गराएकी छन् ।

अस्कर छनोटका लागि ‘अञ्जिला’ र ‘गुन्यो चोलो’ अन्तिम चरणको प्रतिस्पर्धामा थिए तर निर्णय गर्दा निर्देशक समुद्रले चारवटा मुख्य प्रश्न उठाएकी छन् । उनले विज्ञप्तिमार्फत सोधेकी छन्, ‘एउटा फिल्मको मिडिया–कोअर्डिनेटर निर्णायक बसेर निर्णय गर्नु कत्तिको न्यायोचित हुन्छ ? कलरिस्टले रङसम्बन्धी काम गर्ने हुनाले उसले ध्वनि डिजाइन वा अन्य प्राविधिक पक्षमा निर्णय गर्ने अधिकार कत्तिको तर्क संगत छ ? अमेरिका बसेर चलचित्र नै नहेरी कसरी निष्पक्ष मूल्यांकन गर्न सके ? प्राविधिकरूपमा फिल्म हलमा सामूहिक अवलोकन गर्नुको साटो कोठाभित्र वा ल्यापटपमै फिल्म हेरी निर्णय गरिएको कुरा खेदजनक छैन ?’

यस्ता त्रुटिपूर्ण अभ्यासले नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने भएकाले निष्पक्ष, पारदर्शी र व्यवस्थित प्रक्रिया अपनाई निर्णय पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताएकी छन् ।

यसमा उचित निर्णय नभए यस्तो त्रुटिका बारेमा अस्कर फिल्म फेस्टिभलमा आधिकारिक इमेलमार्फत गुनासो गर्नेसमेत उनले बताएकी छन् । पछि उनले फेसबुकमार्फत रकमको चलखेलका कारण आफ्नो फिल्म छनोटमा नपरेको इसारा गर्दै भनेकी छन्, ‘अस्कर कमिटीले मसँग मागेको भए त हरेकलाई १०–१० लाख नै दिन्थें नि !’

Gunyu-choli-1758257118.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्