नेभिगेशन
अर्थतन्त्र

बाढीबाट प्रभावित नागरिकको उद्धारमा एनआरएनको साथ निरन्तर

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान दशौ दिन पनि निरन्तर जारी राखेको छ । 
यसैंबीच बाढी प्रभावित परिवारहरूको स्वास्थ्य आवश्यकतालाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना तथा मेट्रो अस्पतालको सहकार्यमा नुवाकोटको तुप्चेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।  एनआरएनएका ग्लोबल हेल्थ कमिटीकी सह–अध्यक्ष प्रसुना कँडेल नेतृत्वमा सञ्चालित शिविरमा करिब ९० जना बाढी प्रभावित बालबालिका, महिला लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा मेट्रो अस्पतालका टोलीमा डा. अशोक कार्की, म्यानेजिङ डाइरेक्टर केशव राज खनाल, अस्पताल व्यवस्थापन तथा मानसिक स्वास्थ्य परामर्शदाता फपेन्द्र न्यौपाने र स्टाफ नर्स संगिता रिजाल सहभागी थिए । बाढी प्रभावितहरूलाई आवश्यक औषधिसमेत उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरमा विशेषगरी दीर्घरोगसम्बन्धी समस्या बढी देखिएको थियो भने ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा संक्रामक रोगसँग सम्बन्धित लक्षण भएका बिरामीहरू पनि भेटिएका थिए । यसअघि हिजो त्रिशूली प्रादेशिक अस्पतालको समन्वयमा स्टार स्कुलमा स्वास्थ्य शिबिर संचालन गरिएको थियो ।
पशुपतिस्थित क्रियापुत्री थप राहत
विनाशकारी बाढीका कारण आफन्त गुमाई काठमाडौंमा आएर पशुपतिस्थित क्रियापुत्री घरमा काजक्रिया गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका प्रभावित परिवारलाई एनआरएनएले आइतवार थप  राहत सामग्री उपलब्ध गराएको छ । उपाध्यक्ष रोजिना प्रधान राई,  महिला उपाध्यक्ष राधिका गुरुङ (टीका ) महासचिव डा चिरन्जीवी खड्का, प्रमुख संरक्षक डा बद्री केसी  लगायतले  क्रियापुत्री घरमा रहेका परिवारको आवश्यकतालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।  यसअघि उक्त परिवारहरुलाई खाद्यान्न चुलो लगायतका  सामग्री दिइएको थियो ।
एलो गुम्बामा बाढी प्रभावितका लागि थप राहत सामग्री
विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौंको एलो गुम्बामा आश्रय लिइरहेका रसुवाका विस्थापित परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले थप राहत सामग्री हस्तान्तरण गरेको छ । बाढीका कारण घरबारविहीन भई एलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै एनआरएनएले यसअघि पनि राहत सामग्री उपलब्ध गराउँदै आएको थियो । सोही क्रममा त्यहाँ रहेका महिलाहरुको मागअनुसार उनीहरुका लागि आवश्यक लत्ताकपडा, बालबालिकाको लागि आवश्यक तेल, श्याम्पू लगायतक  थप राहत सामग्री उपलब्ध गराइएको हो । एनआरएनएले बाढी प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनस्र्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को सहकार्यमा मानवीय सहयोग अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्