नेभिगेशन
साहित्य

साहित्यकार डा. लालको निधन

धनुषा । मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो । 

धनुषाको साविक देवडिहा गाविस–३, खिरखिरिया गाउँमा सन् १९४३ मार्च २ मा जन्मिएका उनले करिब छ दशक मैथिली साहित्यको उन्नयनमा सक्रिय योगदान पु¥याए । मैथिली विषयमा विद्यावारिधि गरेका उनी नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारीसमेत थिए । 

साहित्यका विभिन्न विधामा कलम चलाएका डा उनले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रावृत्तान्त र लोकसाहित्यमा योगदान दिएका छन् । उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती बन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो । त्यसयता उनी निरन्तर सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय रहिरहे ।

‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ उनका चर्चित कृतिमा पर्छन् । ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो । उनले मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’को सम्पादनसमेत गरेका थिए ।

उनका साहित्यिक रचनामध्ये केही विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समावेश छन् । यसले उनको सिर्जनात्मक योगदानलाई साहित्यिक क्षेत्रभन्दा बाहिर शैक्षिक क्षेत्रमा समेत स्थापित गरेको देखिन्छ । साहित्यिक तथा सामाजिक गतिविधिमा उनको सक्रियता थियो । उनी विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध थिए । मैथिली साहित्यमा पु¥याएको योगदानको कदरस्वरूप उनले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका सम्मान प्राप्त गरेका थिए । 

उनको निधनले मैथिली साहित्यमा लामो समयदेखि सक्रिय एक अनुभवी स्रष्टा, समालोचक र साहित्यिक अभियन्ताको अभाव भएको साहित्यप्रेमीहरूले बताएका छन् । विशेषगरी मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उनले पु¥याएको योगदानलाई साहित्यिक वृत्तले महŒवपूर्ण मान्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्