नेभिगेशन
मनोरञ्जन

मनीषाको नयाँ हलिउड यात्रा !

बलिउडदेखि ओटीटीसम्म आफ्नो अभिनयको छुट्टै छाप छोडेकी नेपाली अभिनेत्री मनीषा कोइराला अब टेक्सासको ‘काउब्वाइ’ दुनियाँमा देखिने भएकी छन् । उनी अमेरिकी स्वतन्त्र फिल्म ‘काउगल्र्स एन्ड इन्डियन्स’मा मुख्य भूमिकामा देखिने भएकी हुन् ।
तेजल देसाईले लेखन तथा निर्देशन गर्ने यो फिल्मको छायांकन आगामी नोभेम्बरमा अमेरिकाको टेक्सास राज्यको अस्टिन र आसपासका क्षेत्रमा सुरु हुनेछ । रोचक कुरा के छ भने फिल्मको पुरानो नाम ‘काउब्वाइज एन्ड इन्डियन्स’ थियो ।
फिल्ममा मनीषाले एक मध्यम उमेरकी भारतीय महिलाको भूमिका निभाउनेछिन्, जो अमेरिकी दक्षिणपश्चिमी भूभागमा आफ्नो पहिचान खोज्दै अघि बढ्छिन् । फरक संस्कृति, नयाँ परिवेश, अनपेक्षित मित्रता र आफ्नो जरा खोज्ने यात्राको कथा फिल्मको केन्द्रमा हुनेछ ।
देसाईले आफ्नो पुरस्कार विजेता छोटो फिल्म ‘काउब्वाइज एन्ड हिन्दुज’लाई विस्तार गर्दै यो फिचर फिल्म तयार पारेकी हुन् । फिल्मले दक्षिण एसियाली संस्कार र अमेरिकी ‘वाइल्ड वेस्ट’को जीवनशैलीबीचको टकराव र मेललाई रोचक ढंगले प्रस्तुत गर्नेछ ।
मनीषाका लागि भने यो भूमिका सामान्य अभिनयभन्दा निकै विशेष छ । उमेर बढ्दै जाँदा महिलाका लागि चुनौतीपूर्ण र अर्थपूर्ण भूमिका कम लेखिने गरेको बताउँदै आएकी मनीषाले यो कथा सुनेपछि आफू आकर्षित भएको बताएकी छन् ।
“मेरो उमेरका महिलाका लागि पर्याप्त भूमिका लेखिँदैनन् भन्ने कुरा मैले पहिले पनि भनेकी छु । अवस्था बिस्तारै परिवर्तन हुँदैछ, तर अझै लामो बाटो तय गर्न बाँकी छ,” मनीषाले भनेकी छन् ।
तर ‘काउगल्र्स एन्ड इन्डियन्स’को कथा र निर्देशक देसाईको सोच सुनेपछि आफूले फिल्ममा ठूलो सम्भावना देखेको उनको भनाइ छ ।
मनीषाले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गर्दै रमाइलो शैलीमा भनेकी छन्, “टेक्सासका भूभागमा घोडा चढ्दै, चिया पिउँदै साहसिक यात्रा गर्न म निकै उत्साहित छु ।”
निर्देशक देसाईका लागि पनि मनीषा नै फिल्मकी पात्र ‘आशा’का लागि उपयुक्त अभिनेत्री हुन् । उनका अनुसार मनीषाको आँखामा अनुभव, पीडा, संवेदना र शक्ति एकसाथ देखिन्छ ।
‘दिल से’देखि ‘हिरामन्डी’सम्म मनिषाले प्रदर्शन गरेको अभिनयमा रहेको यथार्थपरकता, संवेदनशीलता र मौन अभिव्यक्तिले ‘आशा’को चरित्रलाई जीवन्त बनाउन सक्ने देसाईको विश्वास छ ।
फिल्मकी निर्मात्री किर्ताना बाँस्कोटा हुन्, जसले ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ र ‘प्रिमोनिसन’जस्ता परियोजनामा काम गरिसकेकी छन् ।
बाँस्कोटाका अनुसार अहिले टेक्सास फिल्म निर्माणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । नयाँ प्रोत्साहन योजना, स्थानीय कलाकार तथा प्राविधिक जनशक्ति र विशाल भौगोलिक परिवेशका कारण त्यहाँ फिल्म खिच्न सहज हुँदै गएको उनको भनाइ छ ।
‘हिरामन्डी’मार्फत पछिल्लो समय अन्तर्राष्ट्रिय दर्शकमाझ पुनः चर्चामा आएकी मनिषाको यो नयाँ परियोजनाले उनको अभिनय यात्रालाई अर्को मोड दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्