नेभिगेशन
प्रवास

घुम्न निस्कने बहाना सानो खुसीदेखि ब्रेकअपसम्म

नयाँदिल्ली (एजेन्सीहरु) – पहिले यात्रा भन्नासाथ लामो बिदा, चाडपर्व, विवाहको वार्षिकोत्सव वा जीवनका कुनै ठूला उपलब्धि सम्झिने गरिन्थ्यो । तर भारतीय यात्रुहरूको सोच अहिले बदलिँदै गएको छ । अब घुम्न निस्कनका लागि कुनै विशेष अवसर कुर्नुपर्दैन । मन लाग्नु नै पर्याप्त कारण बन्दै गएको छ । सानो व्यक्तिगत सफलता, खराब मौसमबाट बच्ने चाहना, कठिन कार्यसप्ताहको अन्त्य, सम्बन्धविच्छेद वा केवल केही दिन आराम गर्ने इच्छा पनि यात्राको नयाँ कारण बन्न थालेका छन् ।
विश्वको अग्रणी अनलाइन ट्राभल प्लेटफर्म बुकिङ डटकमले गराएको ‘समर ट्राभल रिसर्च २०२६’ ले भारतीय यात्रुको यही बदलिँदो व्यवहारलाई उजागर गरेको हो । अनलाइन बजार अनुसन्धान तथा डाटा एनालिटिक्स कम्पनी ‘यूगभ’ ले गत मे महिनामा भारतका १० प्रमुख सहरका एक हजार उपभोक्तामाझ गरेको सर्वेक्षणमा यात्रा अब विशेष अवसरको प्रतीक्षा गर्ने विषय नरहेको देखिएको छ ।
सर्वेक्षणमा सहभागी ५८ प्रतिशत भारतीयले कुनै विशेष कारणबिनै ‘मन लागेकाले’ यात्रा गरेको बताएका छन् । त्यस्तै ५७ प्रतिशतले पछिल्लो एक वर्षमा कुनै ठूलो उत्सव, जीवनको महŒवपूर्ण घटना वा उपलब्धिसँग सम्बन्धित नभएका दुईदेखि तीनवटा मनोरञ्जनात्मक यात्रा गरेका थिए ।
अझ रोचक कुरा के छ भने ६१ प्रतिशतले सानो व्यक्तिगत उपलब्धि मनाउन यात्रा बुक गरेका छन् । फिटनेसको लक्ष्य पूरा गर्नु, कठिन कार्यसप्ताह सफलतापूर्वक पार गर्नु वा दैनिक जीवनको कुनै सानो सफलता पनि घुमफिरको बहाना बन्न थालेको छ ।
मौसम पनि यात्राको नयाँ निर्णायक बनेको छ । ५८ प्रतिशत उत्तरदाताले आफ्नो ठाउँको मौसमभन्दा राम्रो मौसम भएको गन्तव्य रोजेर यात्रा गरेको बताएका छन् । जलवायु परिवर्तन र अनिश्चित मौसमले यात्रा गर्ने ठाउँ र समय छनोटमा प्रभाव पारिरहेको पछिल्ला अन्तर्राष्ट्रिय अध्ययनहरूसँग पनि यो प्रवृत्ति मेल खान्छ ।
गन्तव्य मात्र होइन, होटल आफैं पनि यात्राको कारण बन्न थालेको देखिएको छ । ५५ प्रतिशतले आरामदायी ओछ्यान, उत्कृष्ट रुम सर्भिस वा बाथटबजस्ता सुविधाको आनन्द लिनकै लागि होटल बुक गरेको बताएका छन् । यसले भारतीय यात्रुमा ‘गन्तव्य हेर्न जाने’ पुरानो सोचभन्दा ‘बसाइको अनुभव लिन जाने’ प्रवृत्ति बलियो बन्दै गएको संकेत गर्छ ।
छुट र सस्तो अफरले ३६ प्रतिशतलाई यात्रा गर्न प्रेरित गरेको छ भने यात्राबाट फर्किएपछि फेरि घुम्न मन लाग्ने अवस्थाले २० प्रतिशतलाई अर्को यात्रा योजना बनाउन प्रेरित गरेको पाइएको छ । ५१ प्रतिशतले आफू वा आफ्नो परिवारले ‘ब्रेक पाउनैपर्छ’ भन्ने कारणलाई यात्रा गर्ने औचित्य बनाएका छन् । करिब ३२ प्रतिशतले त यात्रा ‘थेरापीभन्दा सस्तो’ भएको भन्दै आफूलाई घुम्न जान उचित ठहराएका छन् ।
सर्वेक्षणमा चिकित्सकले बढी भिटामिन डी लिन सुझाव दिएका कारण यात्रा गर्नेहरू पनि भेटिएका छन् । २४ प्रतिशतले यस्तो कारण बताएका छन् भने २२ प्रतिशतले ज्योतिषीले यात्रा गर्न उपयुक्त समय भएको बताएपछि यात्रा योजना बनाएको उल्लेख गरेका छन् । १० प्रतिशतले आफ्नै घरपालुवा जनावरलाई पनि ‘ब्रेक चाहिएको’ कारण देखाएर घुम्न निस्किएको बताएका छन् ।
यो अध्ययन बुकिङ डटकमका अघिल्ला ट्राभल अनुसन्धानभन्दा केही फरक देखिन्छ । विगतका अध्ययनहरूले नयाँ गन्तव्य, प्रविधिको प्रयोग, दिगोपन, स्वास्थ्य, साहसिक अनुभव, कम भीडभाड भएका ठाउँ र व्यक्तिगत अनुभवलाई प्राथमिकता दिएको देखाएका थिए । यसपटक भने अनुसन्धानको केन्द्र ‘कहाँ जाने ?’ भन्दा ‘किन जाने ?’ मा पुगेको छ ।

बुकिङ डटकमका दक्षिण एसिया क्षेत्रीय प्रमुख सन्तोष कुमारका अनुसार, ‘लामो समयसम्म यात्रा ठूला उपलब्धि र क्यालेन्डरका बिदासँग जोडिएको थियो । अहिले त्यो सोच धेरै व्यक्तिगत बन्दै गएको छ । वास्तविक समयको मनस्थिति, दैनिक जीवनका साना कारण र साना खुसी मनाउने चाहनाले मानिसलाई यात्रा गर्न प्रेरित गरिरहेको छ ।’
मे १३ देखि २४ सम्म गरिएको यस अनुसन्धानमा दिल्ली–एनसीआर, मुम्बई, कोलकाता, चेन्नई, पुणे, हैदराबाद, बेंगलुरु, अहमदाबाद, लखनउ र जयपुरका १८ वर्षमाथिका उपभोक्ता सहभागी थिए । सहभागीहरू पछिल्लो १२ महिनामा यात्रा गरिसकेका तथा आगामी तीन महिनाभित्र फेरि यात्रा गर्ने योजना बनाइरहेकाहरू थिए ।

वर्षमा सवा तीन करोड भारतीय घुम्छन् विदेश
भारत सरकारको पर्यटन मन्त्रालयका अनुसार सन् २०२५ मा देशभित्र ४ अर्ब २८ करोड ६९ लाखभन्दा बढी घरेलु पर्यटक भ्रमण रेकर्ड भएका छन् । यो संख्या मानिसको वास्तविक संख्या नभई भ्रमणको संख्या हो, अर्थात् एउटै व्यक्तिले वर्षमा धेरैपटक यात्रा गरेको हुन सक्छ ।
सोही वर्ष ३ करोड २८ लाखभन्दा बढी भारतीय विदेश गएका थिए । सन् २०२४ को तुलनामा विदेश जाने भारतीयको संख्या बढेको सरकारी तथ्यांकले देखाउँछ । सन् २०२४ मा मात्रै भारतीय नागरिकका विदेश प्रस्थानमध्ये करिब ४३ प्रतिशत यात्रा मनोरञ्जन र फुर्सदका लागि भएको पर्यटन मन्त्रालयको विवरणमा उल्लेख छ ।
करिब १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको भारतमा विदेश यात्रा गर्नेको संख्या जनसंख्याको करिब २ प्रतिशतभन्दा बढी बराबर देखिन्छ, यद्यपि एउटै व्यक्ति पटकपटक विदेश जान सक्ने भएकाले यसलाई विदेश घुम्ने व्यक्तिको ठ्याक्कै प्रतिशत मान्न मिल्दैन ।
भारतको पर्यटन क्षेत्रमा खर्च र आर्थिक गतिविधि पनि तीव्र रूपमा बढिरहेको छ । बढ्दो आम्दानी, सस्तो हवाई यात्रा र अनलाइन बुकिङ सुविधाले घुमफिरलाई मध्यमवर्गीय भारतीयको जीवनशैलीसँग जोड्दै लगेको छ ।
यही पृष्ठभूमिमा प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘स्वदेशी’ र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिँदै अनावश्यक विदेशी यात्रा र विलासिताका वस्तुमा खर्च कम गर्न आग्रह गरेका छन् । सुनजस्ता आयातमुखी वस्तुको अत्यधिक खरिद र विदेशमा हुने खर्चले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने चिन्ताबीच उनको यस्तो आग्रह आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्