नेभिगेशन
अर्थतन्त्र

एनआरएनएको राहत अभियान  जारी नै

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा  प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरु जारी नै राखेको छ । 
यसक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा एनआरएनए र नेपाल रेडक्रस सोसाइटीबीच बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । 
छलफलमा प्रभावित क्षेत्रको वास्तविक आवश्यकता मूल्याङ्कन गरी ‘ग्याप’ भएका क्षेत्रमा मात्रै सहयोग केन्द्रित गर्ने तथा नुवाकोटको तुप्चे र रसुवाको टिमुरेलगायतका क्षेत्रमा स्थानीय तह, रेडक्रस तथा स्थानीय साझेदारसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको छ । 
स्थानीय स्तरमा राहत तथा मानवीय सहयोगका लागि एनआरएनएबाट रु. ५ लाखसम्म सहयोग उपलब्ध गराउने तथा दुई संस्थाबीच समन्वयका लागि एनआरएनएको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट प्रकोप व्यवस्थापन निर्देशक सागर श्रेष्ठलाई फोकल पर्सन तोकेर सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ । फोकल पर्सनमार्फत स्थानीय आवश्यकता पहिचान, स्रोत परिचालन तथा राहत र स्वास्थ्यसम्बन्धी गतिविधिमा नियमित समन्वय गरी प्रभावित समुदायमा सहयोग पु¥याउने विषयमा दुवै पक्षबीच छलफल भएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को आह्वानमा संकलित रकममध्ये एनसीसी रुसियाले २० लाख सहयोग गरेको छ । उक्त रकम संघको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । भोटेकोशी बाढीपीडितका लागि संघले सरकारलाई हालसम्म  १ करोड २० लाख सहयोग हस्तान्तरण गरिसकेको छ । साथै, संघको नेतृत्वमा प्रभावित क्षेत्रमा करिब १ करोड रुपैयाँ बराबरको राहत सामग्रीसमेत वितरण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्