नेभिगेशन
अर्थतन्त्र

भोटेकोशीमा भन्सार अधिकृत शर्माको मृत्यु

सम्पर्कविहिन १४ कर्मचारीहरूको अवस्थाप्रति अर्थमन्त्रीद्वारा चिन्ता व्यक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन भएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 
भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी भएर उनले दिवंगत  अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 
साथै, उनले बाढीमा परी बेपत्ता भएका १४ जना राष्ट्रसेवक कर्मचारीको अज्ञात अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सकुशल फर्किएको सुन्न आतुर रहेको बताए ।
बाढीमा परी ज्यान गुमाएका अधिकृत शर्माको परिवार र बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीहरूका परिवारमा परेको गहिरो पीडाप्रति दुःख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले उहाँहरूको दुःखमा सरकार र सिङ्गो अर्थ मन्त्रालय साथै रहेको बताए ।
कर्तव्यपालनको सिलसिलामा परलोक भएका अधिकृत शर्माको परिवारलाई सरकार र अर्थ मन्त्रालयका तर्फबाट दिन सकिने राहत र पुनस्र्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले स्पष्ट पारे ।
अर्थ सचिव डा. घनश्याम उपाध्यायले नवकुल शर्माको अभाव सधैँ खड्किरहने बताए । सरकारलाई राजस्व उठाउने कार्यका लागि खटिँदा ज्यान गुमाउन पुगेका शर्मालाई उनले राजस्व सहिदको रूपमा सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।
साथै, उनले कर्तव्यपालनको सिलसिलामा बाढीमा परेर सम्पर्कविच्छेद भएका र अवस्था अज्ञात रहेका १४ जना कर्मचारीहरूको अवस्थाले चिन्तित तुल्याएको बताए । उनीहरूको अवस्था पहिल्याउन सरकारले यथेष्ट पहल गरेको पनि सचिव उपाध्यायले बताए ।
सभामा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले मृतक कर्मचारीको अवस्था पहिल्याउन र बेपत्ताको खोजी गर्न हरसम्भव प्रयास जारी राखेको बताए ।
सो अवसरमा रसुवा भन्सार कार्यालयमा भन्सार प्रमुखको जिम्मेवारीमा रहेका उपसचिव राजेन्द्र ढुङ्गानाले भदौ १० मा भोगेको त्रासदीको स्मरण गरेका थिए ।  आँखैअघि आफ्ना सहकर्मी गुमाएको र बेपत्ता भएको घटनाले अझै झस्काइरहेको उनले दुखेसो प्रकट गरे । 
भदौ १० गतेको बाढीमा परी रसुवा भन्सार कार्यालयमा खटिएका १५ जना कर्मचारी बेपत्ता भएका थिए । जसमध्ये शर्माको शव गोरखामा फेला परेपछि पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको थियो । सो घटनामा परेका १४ जना कर्मचारीको अवस्था अझै अज्ञात छ ।
विभागका अनुसार बेपत्ता हुनुहुने कर्मचारीहरूमा भीम लामा, विष्णुप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओलीलगायत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्