दिलीप सहनी, सिरहा, २६ साउन ।
मधेश प्रदेश सरकारले ४० लाख रुपैयाँ खर्चेर सिरहाको अर्नमा गाउँपालिका–५, कृष्णपुरमा निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन नहुँदै प्रयोगविहीन अवस्थामा बन्द गरिएको छ । भवन तयार भइसके पनि राजनीतिक अडान र वडाध्यक्षको व्यक्तिगत हस्तक्षेपका कारण स्थानीयवासी स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा ‘स्वास्थ्य चौकी स्तर उन्नति कार्यक्रम’ अन्तर्गत किता नम्बर ४१५ मा रहेको ३ कठ्ठा ५ धुर क्षेत्रफलमा अत्याधुनिक भवन निर्माण सम्पन्न गरिएको हो । तर, सो भवनबाट अहिलेसम्म सेवा सुरु गरिएको छैन । स्वास्थ्य चौकी अहिले वडा कार्यालयको साँघुरो कोठाबाट सीमित सेवा दिइरहेको छ ।
स्थानीय भुवनेश्वर यादवका अनुसार वडाध्यक्ष मनिकलाल यादवले भवनको स्थानप्रति असहमति जनाउँदै आफ्नै घर नजिक बनाउनुपर्ने अडान लिँदै आएका छन् । यही अडानकै कारण हालको सुविधा सम्पन्न भवनमा ‘ताल्चा’ लगाइएको छ । यादवले चौकी सञ्चालनमा व्यक्तिगत रुचिअनुसार हस्तक्षेप गर्दै आएका छन् भन्ने आरोप स्थानीयले लगाएका छन् ।
गाउँपालिका अध्यक्ष अशोक यादवसमेत वडाध्यक्षकै पक्षमा रहेको र हालको भवन छोडेर यादवको घर नजिक अर्को भवन निर्माण गर्न दबाब दिइएको स्थानीय अगुवा सुलेशन साफीले बताएका छन् । उनका अनुसार प्रयोगविहीन रहेको भवन वडा–५ का अधिकांश नागरिकका लागि सहज पहुँचमा रहेको र सबैका लागि उपयुक्त स्थान हो ।
स्थानीयवासीहरूले स्वास्थ्य सेवा राजनीतिक हैकमको बलिबेदीमा चढाइनु आपत्तिजनक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले तत्काल नयाँ भवनबाट सेवा सञ्चालन गर्न माग गरेका छन् । जनताको करको पैसाले बनेको भवन जनताकै पहुँचबाट बाहिर राख्नु गम्भीर जनविरोधी कदम भएको उनीहरूको आरोप छ ।
यसबीच, स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा व्यक्तिगत अडानले अवरोध सिर्जना हुनु गम्भीर प्रश्नको विषय बनेको छ । स्थानीयले चेतावनी दिएका छन् – ‘हाम्रो सेवा खोस्ने काम अब सहन सकिँदैन, यदि तत्काल समाधान गरिएन भने हामी सडकमा उत्रन बाध्य हुनेछौँ ।’