नेभिगेशन
स्वास्थ्य
स्वास्थ्य

मानव जातिलाई संसारभर फैलिन सहयोग गर्ने ‘कुर्कुच्चा’

अकिलिसका लागि उसको कुर्कुच्चा नै उसको घातक कमजोरी थियो । तर समग्र मानव जातिका लागि भने हाम्रो खुट्टाको पछाडिको भाग अर्थात् कुर्कुच्चाले पृथ्वीमाथि प्रभुत्व जमाउन महŒवपूर्ण भूमिका खेलेको हुन सक्ने एउटा अध्ययनले देखाएको छ ।
हिँड्दा पहिले कुर्कुच्चा भुइँमा टेक्ने र त्यसपछि खुट्टाको बाँकी भाग जमिनमा पर्ने मानवको विशेष चालले हाम्रो प्रजातिलाई संसारभर लामो दूरीसम्म हिँड्न आवश्यक ऊर्जा उपलब्ध गराएको अध्ययनले पत्ता लगाएको छ ।
यही कारणले मानिसको हड्डी र जोर्नी पनि बाक्ला तथा बलिया हुँदै गए । यसले मानिसलाई अझ मजबुत बन्न र विभिन्न परिस्थितिमा बाँच्न सहयोग ग¥यो ।
मानिस कसरी पृथ्वीमा प्रभुत्व जमाउन सफल भयो भन्ने चर्चामा हाम्रा चलायमान बूढी औंला, ठूलो मस्तिष्क र दुई खुट्टामा ठाडो भएर हिँड्ने क्षमता प्रायः सबैभन्दा बढी चर्चामा आउँछन् । अब भने कुर्कुच्चाले पनि आफ्नो पालो पाएको छ ।
अनुसन्धानकर्ताहरूले मानिस र चिम्पान्जीको हिँड्ने शैली तुलना गरेका थिए । चिम्पान्जीहरू दुई खुट्टामा हिँड्दा पनि प्रायः खुट्टाको अगाडिको भाग वा बाहिरी किनारामा पहिले टेक्ने गर्छन् ।
तर मानिसले हिँड्दा पहिले कुर्कुच्चा टेक्छ । त्यसपछि खुट्टाको बाँकी भाग अगाडि जमिनमा फैलिन्छ र अन्त्यमा औंलाले जमिनलाई धकेल्दै अर्को पाइला चालिन्छ ।
यदि मानिसले खुट्टाको अगाडिको भागमा मात्र टेकेर हिँड्ने हो भने कुर्कुच्चा पहिले टेक्नेभन्दा २६ देखि ४१ प्रतिशत बढी ऊर्जा खर्च हुने अध्ययनले देखाएको छ । यो अध्ययन ‘प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेस’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो ।
तर कुर्कुच्चा पहिले टेक्नुको एउटा बेफाइदा पनि छ । कुर्कुच्चा जमिनमा पर्दा त्यसबाट उत्पन्न हुने झट्का शरीरभरि फैलिन्छ । यस क्रममा हड्डी र जोर्नीमा पर्ने असर खुट्टाको अगाडिको भागमा टेक्दा भन्दा साढे दुई गुणाभन्दा बढी हुन्छ ।
लामो दूरीसम्म यसरी कुर्कुच्चा पहिले टेक्दै हिँड्न शरीरले आफूलाई त्यसअनुसार विकसित गर्नुपरेको थियो ।
अध्ययनका लेखक तथा पेन्सिलभेनिया स्टेट विश्वविद्यालयका मानवशास्त्रका सहायक प्राध्यापक निकोलस होलोव्काले भने, ‘यस्तो उच्च दबाब सहन मानिसको शरीरमा केही विशेष संरचनात्मक परिवर्तन आवश्यक परेको देखिन्छ । त्यसैले कुर्कुच्चाको हड्डी बाक्लो र घुँडा तथा गोलीगाँठाका जोर्नी ठूला हुँदै गए ।’
उनका अनुसार कुर्कुच्चा पहिले टेक्ने हिँडाइले मानिसका केही महŒवपूर्ण व्यवहार विकास गर्न पनि भूमिका खेलेको हुन सक्छ ।
उदाहरणका लागि, सिकार गर्ने र जंगली खाद्य पदार्थ संकलन गर्ने क्रममा मानिसले हरेक दिन खानाको खोजीमा निकै लामो दूरी हिँड्नुपथ्र्यो । त्यसबाट ठूलो मात्रामा खाद्य स्रोत प्राप्त हुन्थ्यो । त्यसैले कम ऊर्जा खर्च गरेर लामो दूरी हिँड्न सक्ने क्षमता मानिसका लागि निकै फाइदाजनक भयो ।
चिम्पान्जीको चाल पनि अध्ययन
अनुसन्धानकर्ताहरूले एक दर्जनभन्दा बढी चिम्पान्जीको हिँड्ने शैली उच्च गतिको क्यामेराबाट रेकर्ड गरेका थिए । त्यसैगरी १२ जना मानिसको हिँडाइ पनि अध्ययन गरिएको थियो ।
मानिसहरूलाई पहिले सामान्य रूपमा हिँड्न लगाइयो । त्यसपछि चिम्पान्जीको जस्तै शैलीमा हिँड्न भनियो । उनीहरूको अक्सिजन खपत र कार्बन डाइअक्साइड उत्पादनसमेत मापन गरियो । यसबाट विभिन्न शैलीमा हिँड्दा शरीरले कति ऊर्जा खर्च गर्छ भन्ने अनुमान गरिएको थियो ।
होलोव्काका अनुसार कुर्कुच्चामा पहिले टेक्नु मानव हिँडाइको विशिष्ट विशेषता हो, तर यसलाई अहिलेसम्म पर्याप्त महŒव दिइएको थिएन ।
यो एउटा विकासवादी अनुकूलन हो, जुन सम्भवतः ‘होमो इरेक्टस’को समयसम्म विकसित भइसकेको थियो । होमो इरेक्टस करिब १९ लाख वर्षअघि देखि १ लाख १० हजार वर्षअघिसम्म पृथ्वीमा रहेको मानिन्छ । उसको शरीरको हड्डी र मांसपेशीको संरचना कुर्कुच्चा पहिले टेक्दै हिँड्न सक्ने गरी विकसित भइसकेको थियो ।
पेन्सिलभेनिया स्टेट विश्वविद्यालयका अनुसार यसले प्रारम्भिक मानवलाई अझ प्रभावकारी ढंगले हिँड्न सक्षम बनायो । अन्ततः यही क्षमताले हाम्रा पुर्खालाई संसारका विभिन्न भागमा फैलिन सहयोग गरेको हुन सक्छ ।
तर अध्ययनको यो निष्कर्ष मुख्यतः हिँडाइमा लागु हुन्छ ।
दौडिँदा भने मानिसले खुट्टाको अगाडिको भागमा टेक्ने शैली अपनाउन सक्छ । यस्तो अवस्थामा ऊर्जा खर्चमा केवल ५.५ प्रतिशत मात्र वृद्धि हुने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्