नेभिगेशन
अर्थतन्त्र

बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउन्डेसन), बंगलादेशले संयुक्त रूपमा राहत वितरण गरेका छन् ।
राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो ।
यस अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी एएचजेड एसोसिएट्स नेपालले गरेको थियो ।

राहत अभियानबारे प्रतिक्रिया दिँदै डीएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन ए.के.एम. गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए ।
उनले भने, ‘मानवताको कुनै सीमा हुँदैन । जब मानिसहरू कठिनाइ र क्षतिको सामना गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरू कहाँबाट आएका हुन् भन्नेभन्दा पनि उनीहरूको साथमा उभिनु महत्वपूर्ण हुन्छ । नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने अवसर पाएकोमा हामी गौरवान्वित छौँ।’
फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम तथा गोलाम मुर्तुजा लगायतको मार्गदर्शन र सहयोगमा अभियान सञ्चालन गरिएको जनाएको छ ।
राहत अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर शोबिन थापाले गरेका थिए ।  काठमाडौंस्थित मुख्य कार्यालयबाट परिचालित राहत टोलीमा शोबिन थापा, अर्चना यादव, सजल पोखरेल, रिषभ सिंह, प्रज्ञा मगर, दिवेश अधिकारी, अम्बिका गिरी, मेघा बज्राचार्य र योगेन्द्र साउद सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्