नेभिगेशन
अर्थतन्त्र

दुबईका उद्यमी पुडासैनीले गरे ५१ लाख ५१ हजार सहयोग

काठमाडौं । दुबईका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
पुडासैनी आफैं नेपाल आएर आफ्ना बुबाको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
करिब दुई दशकदेखि खाडीमा कार्यरत पुडासैनी हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।
दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

दुबईस्थित हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पुडासैनी आफैं नेपाल आएर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक बुझाएका हुन् ।

पुडासैनीले देश विपद्मा परेको समयमा विदेशमा बसेर चुप लाग्न नसकेको बताएका छन् । विदेशमा रहे पनि आफ्नो मन नेपालमै रहेको उल्लेख गर्दै उनले सहयोगलाई मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताएका छन् ।

उनले विदेशमा रहेका अन्य नेपालीलाई पनि देशलाई समस्या पर्दा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन् ।

पुडासैनी करिब दुई दशकदेखि खाडी क्षेत्रमा औद्योगिक तथा प्रविधि सेवासम्बन्धी व्यवसायमा सक्रिय छन् । सन् २०१५ मा दुबईमा हाइड्रोजेट स्थापना गरेका उनले पाइपलाइन, ट्यांकी, टनेल तथा अन्य संरचनाको मर्मतसम्भारसँग सम्बन्धित प्रविधि र उपकरण विकास तथा सेवा विस्तार गर्दै आएका छन् । कम्पनीले यूएईबाट ओमानसम्म व्यवसाय विस्तार गरिसकेको छ भने कतारमा विस्तारको प्रक्रिया अघि बढाएको छ ।
पुडासैनीका अनुसार यो उनको पहिलो सामाजिक सहयोग भने होइन । उनले लामो समयदेखि व्यक्तिगत रूपमा विभिन्न व्यक्ति तथा क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताएका छन्। यसलाई थप व्यवस्थित बनाउन पुडासैनी परिवार र हाइड्रोजेट ग्रुपको संयुक्त पहलमा नेपालमा पारिवारिक फाउन्डेसनसमेत स्थापना गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्