नेभिगेशन
अर्थतन्त्र

असोज १ बाट  नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी

काठमाडौं ।  ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नव‌ौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ ।
प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । सबै स्टल बुकिङ भइसकेको बताइएको छ । अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि प्रदर्शनीमा राखिनेछन् ।
आयोजकका अनुसार यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ ।
प्रदर्शनीबारे जानकारी दिँदै नवौँ नेपाल घरजग्गा एवं निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । उनले व्यवसाय क्षेत्रको सुस्तताका कारण समग्र अर्थतन्त्रमा समेत प्रभाव परेको भन्दै घरजग्गा कारोबारमा लागू विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
मल्होत्राले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन लोन–टु–भ्यालु अनुपात ७० प्रतिशत पु¥याउनुपर्ने मागसमेत गरे । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । उनले क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको भन्दै प्रदर्शनीलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरे ।
त्यस्तै, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दिपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारमा मात्र नभई निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए । उनका अनुसार प्रदर्शनीमार्फत करिब  १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पहरू समेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्