नेभिगेशन
अर्थतन्त्र

बाढीपीडितलाई राहतदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म

काठमाडौँ । आयोजक संस्थाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको जनाएको छ। भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ । त्यस्तै रक्तदान कार्यक्रम तथा ओम हस्पिटल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइनेछ ।
प्रदर्शनीमा जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ ।
युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका र चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिनेछ ।
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता कायम राखेको आयोजकको भनाइ छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
बैंकिङ क्षेत्रमा तरलता सहज तथा ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ । आयोजकले उपभोक्ता, लगानीकर्ता, निर्माण व्यवसायी तथा सञ्चारकर्मीलाई प्रदर्शनीमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्