नेभिगेशन
अर्थतन्त्र

बाढी पीडितको राहतका लागि पेसागत महासङ्घ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौँ  । पेसागत महासङ्घ नेपालले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ। महासङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दुई लाख जम्मा गरेको हो।

महासङ्घको स्थायी समितिको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो। संस्था, यसका पदाधिकारी तथा सदस्यहरूका तर्फबाट संकलन गरिएको उक्त रकम बाढी प्रभावितहरूको तत्कालिन राहत र पुनर्स्थापना कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले जम्मा गरिएको महासङ्घले जनाएको छ।

महासङ्घका महासचिव राजन रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण सिर्जित दुःखद् परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ता भएकाहरूको सकुशल उद्धारको आशा व्यक्त गरिएको छ।

महासङ्घले यस संकटको घडीमा आफ्नो तर्फबाट गरिएको सानो सहयोगले राज्यद्वारा सञ्चालित उद्धार तथा पुनःस्थापनाका कार्यमा केही मात्रामा भए पनि टेवा पुग्ने विश्वास लिएको छ। साथै, महासङ्घ तथा आबद्ध राष्ट्रिय घटकहरू, पदाधिकारी एवं सदस्यहरूबाट थप सहयोग रकम संकलन हुने क्रम जारी रहेकाले आगामी दिनमा बाढी पीडित क्षेत्रमा क्रमशः थप राहत र पुनर्स्थापनाका योजनाहरू लैजाने समेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्