नेभिगेशन
दृष्टिकोण

रोमाञ्चित जीवनका रंगीन पलहरू

मानवले आदिमकालदेखि नै यात्रा गर्दै आएको छ । इतिहासमा चिनियाँ यात्री ह्वेन साङ, मार्को पोलो, क्रिस्टोफर कोलम्बस जस्ता फिरन्तेहरूले यात्रा विवरण लेखेका छन् । नेपालमा पनि लामो समयदेखि यात्रा विवरण, यात्रा साहित्य लेख्ने परम्परा रहँदै आएको छ । यात्रा साहित्यका नामी हस्तीहरूमा लैनसिंह बाङदेल, ताना शर्मा, धच गोतामे, रमेश विकल लगायत पर्छन् । 

समकालीन लेखकहरूले पनि यात्रा साहित्यलाई निरन्तरता दिइरहेकै छन् । यसै सन्दर्भलाई जोड्ने काम डा. चन्द्र गिरीले आफ्नो कृति ‘संसारको सेरोफेरो’ मार्फत गरेका छन् । कृतिमा ३६ यात्रा विवरण छन्, जसले ६ महादेशका १२६ देशहरूको भूगोल, संस्कृति, पर्यावरण र मानवीय जीवनशैली प्रस्तुत गरेको छ । उनको पुस्तकमा तीर्थयात्रा, पर्यटकीय भ्रमण, वन्यजन्तु अवलोकन र समृद्ध सांस्कृतिक अनुभव वर्णित छन् ।

डा. गिरीले विश्वका विभिन्न ठाँउहरू जस्तै जमैकाको संगीत र रम, केन्याको वन्यजन्तु, न्युयोर्कको व्यस्त सहर, मुम्बईको स्ट्रीट फुड, ब्राजिलको फुटबल संस्कृति, बनारसको सनातनी सभ्यता र समुद्री क्रुजको रमाइलोलाई वर्णन गरेका छन् । यसको साथै उनले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूमा पनि राम्रो वर्णन गरेका छन् । यी वर्णनले यात्राको रोचकतालाई उच्च बनाएको अनुभव पुस्तक पढ्दै जाँदा अनुभव हुन्छ ।

संसारको विविध भौगोलिक र सांस्कृतिक झलक प्रस्तुत गर्ने पुस्तकमा यात्रा विवरण मात्र नभएर ठाउँ ठाउँमा मानवीय चेतना र ज्ञानका छटा पनि प्रस्तुत छन् । यसले पाठकलाई संसार बुझ्ने नयाँ दृष्टिकोण र यात्रामा होमिन प्रेरणा मात्र दिँदैन आफ्नो बुझाइ, हेराइ र अनभुवलाई परिष्कृत बनाउन पनि सहयोग गर्छ ।

हामी नेपालीहरू आर्थिक र सामाजिक कारणले लामो समयसम्म घुम्ने अवसर नपाएको प्रजातिमा पर्छौ । नेपालीले गरेका सुरुवाती यात्रा तीर्थयात्रामा सीमित थिए । तर पछिल्ला दशकहरूमा प्रविधि र सञ्चारको विकासले नेपालीलाई विश्वयात्री पनि बनाएको छ, र यो क्रममा ती यात्राका बारेका विवरण पनि प्रकाशित भइरहेका छन् ।

डा. गिरीको यात्रा साहित्यले नेपाली पाठकलाई विश्वसँग जोड्ने काम गरेका छन् । पुस्तकमा नेपाल, भारत, अफ्रिका, दक्षिण अमेरिका लगायतका देशका अनुभव समेटिएका छन् । लेखकले मुम्बईमा घूसखोरी, हवाई यात्राका डरलाग्दा अनुभव, डेरियन ग्यापजस्तो जोखिमपूर्ण मार्ग र अफ्रिकाको सफारी लगायत जीवनका विविध क्षणहरूलाई चित्रण गरेका छन् ।

यसले यात्राका रमाइला र दुःख दुवै पक्ष देखाउँछ । घुमफिरले मानिसलाई नयाँ ज्ञान, अनुभव र संस्कृतिसँग जोड्न मद्दत गर्छ भन्ने भनाइलाई यो किताबले न्याय गरेको छ, किनभने ‘संसारको सेरोफेरो’ ले पाठकलाई पुस्तकमार्फत विश्व–यात्राको अनुभव गराउँछ ।

Shekhar-Lamichhane-1756008135.jpg
शेखर लामिछाने

पुस्तकमा कोलम्बिया र पानामालाई जोड्ने घना उष्णतटीय जङ्गलको ६० माइलभन्दा बढी फैलिएको ठूला नदी र पहाडहरूमाफ फैलाएको डेरियन ग्याप जसलाई अमेरिका जाने तल्लो बाटो भनिन्छ, त्यसको कहालीलाग्दो अवस्थाको चित्रण छ । जुन संसारको सबैभन्दा खतरनाक यात्रा मार्ग मध्ये एक हो । अमेरिका जान चाहने धेरैले यो अवैध बाटोको यात्रमा आफ्नो ज्यान गुमाउँछन् ।

विगतमादक्षिण अमेरिकीहरूले मात्र प्रयोग गर्ने यो मार्गमा अहिले चीन, भारत, बंगलादेश, अफगानिस्तान, क्यामरुन र अंगोला आदिका मानिस पनि सामेल हुन्छन् । र, दुःखको कुरा त्यसमा नेपाली पनि पर्दछन् । लेखकले त्यहाँ रुकुमका दस जनाको समूहलाई भेटे । उनीहरूसँग कुरा गरे । लेखकले उनीहरूलाई शुभकामना त दिए तर उनीहरू कस्तो खतराको समाना गर्दैछन् भन्ने चाहिँ उनीहरूलाई भन्न सकिने वा उनीहरूले बुझ्न सक्ने अवस्था पनि थिएन ।

एक संरक्षण वैज्ञानिक डा. गिरिले नाकुरु राष्ट्रिय निकुञ्जका ठूला फ्लेमिङ्गोका लाखौंको बथान देखेर छक्क पर्दाको अवस्था, मेक्सिकोको यात्रामा मोनार्क पुतलीको देख्दाको विस्मय, थाइल्याण्डमा धान खेत देखेर मुग्ध भएको वर्णन गरेका छन् । साथै, सेनेगाली मानिसले पुजा गर्ने बेबाओ रूखको कुरा पनि पुस्तकमा रमाइलो किस्सा बनेर आएका छन् ।

पाठकहरू माया सभ्यता र अंकारवतको बारेमा पढ्न पाउँदा आल्हादित हुनेछन् । साथै, लेखकले आफू घुमेको शहर र शहरी संस्कृतिको पनि वर्णन गरेका छन् । उनले शहरलाई जीवन्त बनाउने अमूर्त संस्कृतिको बारेमा पनि कुरा गरेका छन् । उनी स्थानीय खाना र पेय पदार्थको स्वाद लिन्छन्, लोक संगीत र नृत्यको आनन्द लिन्छन् । पाठक बर्लिनदेखि बालीसम्म घुम्छन् । पेले र ब्राजिलको बारेमा लेख्छन् । भिक्टोरिया ताल र पानामा नहरको रोचक र रोमाञ्चक कथा सुनाउँछन् ।

‘संसारको सेरोफेरो’ नामैले विश्व यात्रा भन्ने बुझिन्छ । यसले पाठकहरूलाई संसारका सबै देशमा नपुर्‍याए पनि सबै महादेश पुर्‍याउँछ । म्यानग्रोभ जंगलमा विज्ञ डा. गिरी कहिले कामको लागि र कहिलेकाहीं बिदामा घुमफिर गरिरहे । यही क्रममा हामी पाठकले एउटा नेपालीले गरेको एशिया, उत्तरी अमेरिका, दक्षिण अमेरिका, युरोप, स्क्यान्डिनेभियाली देशहरू र ओशिनिया देशहरूको यात्रा कथा पढ्न पायौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्