नेभिगेशन
स्वास्थ्य

अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

मनोज भुजेल, सुनसरी, २६ साउन । 

सुनसरीको इटहरीमा अटिजम बिरामी भएका बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रालिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले निर्घात कुटपिट गरेका हुन् ।

घटना साउन २३ गते शुक्रबार भएको बालकका आफन्तले बताएका छन् । साउन १५ गते मात्र सेन्टरमा भर्ना गरिएका बालकलाई सन्चो नभएको भन्दै सेन्टरबाट फोन आएपछि परिवार सेन्टर पुग्दा हात, ढाड, पाखुरा र तिघ्रामा चोटैचोट देखिएको थियो । अटिजम बिरामी भएकाहरूको स्वभाव अन्य बालबालिका भन्दा फरक हुने कारण स्याहार सुसार राम्रो हुने भनेर सेन्टरमा भर्ना गरेको अवस्थामा सेन्टरकै एक महिला कर्मचारीले बालकमाथि निर्घात कुटपिट गरको आफन्तहरूको दाबी छ । 

घटनापछि बालकलाई घर ल्याइएको र घटना छानबिनको लागि परिवारले इटहरी प्रहरीमा समेत उजुरी दिइएको अवस्था छ । अटिजम बिरामी भएको बालक थाहा हुँदाहुँदै फरक तरिकाले स्याहार गर्नुपर्नेमा छोरालाई बाधेर कुटपिट गरिएको बुवा शेखरप्रसाद कोइरालाले आरोप छ । 

यता, कुटपिट गर्ने प्रेरणा केयर सेन्टरका संञ्चालक चूडामणि निरौलाले सेन्टरभित्र एक बृद्धसँगको विवादले कुटपिटको परिस्थिति बनेको र घटना नियतवश नभएको दाबी गरे । रातको समयमा महिला नर्स र कर्मचारीहरूको मात्र उपस्थिति रहने समयमा घटना भएको र चोटपटक लागेको बालकको उपचार समेत सेन्टरले गर्ने व्यहोर्ने निरौलाले बताए ।  

घटनापछि इलाका प्रहरी कार्यालय इटहरीमा दुवै पक्षबीच छलफल भए पनि पीडित परिवारले सेन्टरलाई कानूनतः कारबाहीको माग गरेका छन् । यस्तै इटहरीमा सञ्चालित अटिजम सेन्टरमा रहेका बिरामीहरूलाई गरिने स्याहारसुसार, व्यवहार र उपचारको विषयमा सरोकारवाला निकायहरूले अनुगमन गर्नुपर्ने समेत पीडित परिवारले माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्