नेभिगेशन
अर्थतन्त्र

एनआरएनएको राहत अभियान  १६  औँ  दिनमा पनि

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज १६ औँ दिनमा पनि जारी राखेको छ । 
एनआरएनएका पदाधिकारी तथा स्वयंसेवक सम्मिलित टोली आवश्यक राहत सामग्रीसहित रसुवा पुगेको छ। काठमाडौंबाट आज  बिहान प्रस्थान गरेको टोली १२ घण्टाको कठिन यात्रापछि  बेलुका मात्रै रसुवाको धुन्चे पुगेको हो। टोलीले भोलि गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं. १ र ५ का थुमन, स्याफ्रुबेसी, ठूलो स्याफ्रु लगायत विभिन्न प्रभावित बस्तीमा पुगेर स्थानीय सरकारसँगको समन्वयमा प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गर्नेछ । 
यसका साथै स्थलगत अवलोकन, वास्तविक अवस्था र आवश्यकताबारे जानकारी लिनेछ । यसअघि एनआरएनएले रसुवाका बाढी  प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वय गरी प्रभावित परिवारको संख्या, क्षतिको अवस्था तथा तत्काल आवश्यक राहत सामग्री र स्वास्थ्य सेवासम्बन्धी आवश्यकताको विवरण संकलन गरेको थियो । 
२ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ । पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा रहेका नेपालीहरुको व्यक्तिगत तर्फबाट हालसम्म आठ करोड उनन्चास लाख बत्तीस हजार चार सय दुई रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएकोमा २ करोड ९० लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ । 
पहिलो चरणमा साउदी अरेबिया,बहराइन र म्यानमार एनसीसीले फन्डरेजिङ अभियान सम्पन्न गरेका छन्। बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ,ओमानबाट १३ लाख १५ हजार रुपैंयाँ, साउदी अरेबियाबाट १० लाख रुपैयाँ,र म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्