नेभिगेशन
अर्थतन्त्र

वैदेशिक रोजगार व्यवसायी संघद्वारा मन्त्री यादवलाई उच्च सम्मान

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि चालेको कदमको प्रशंसा गर्दै उच्च सम्मान व्यक्त गरेको छ ।
मलेसियाको श्रम बजारमा लामो समयदेखि जरो गाडेर बसेको बिचौलियाहरूको चलखेल, एकाधिकार र सिन्डिकेट गराउने प्रयासलाई निषेध तथा अन्त्य गर्न मन्त्री यादवले देखाएको दृढ अडान र पहलकदमीको स्वागत गर्दै संघले आज एक सम्मान पत्रमार्फत धन्यवाद ज्ञापन गरेको हो ।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) द्वारा हस्ताक्षरित सम्मान पत्रमा भनिएको छ, "नेपालको वैदेशिक रोजगार क्षेत्रको सुधार र नेपाली श्रमिकको हितमा विशेषतः बिचौलियाहरूको चलखेलमा मलेसियाको श्रम बजारलाई एकाधिकार तथा सिन्डिकेट गराउने प्रयास निषेध र अन्त्यका लागि यहाँले गर्नुभएको पहल र दृढ अडानप्रति संघका तर्फबाट उच्च सम्मानका साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।"
संघले आगामी दिनमा पनि वैदेशिक रोजगार क्षेत्रमा विद्यमान विभिन्न विकृति, जटिलता र नीतिगत सुधारका लागि मन्त्री यादवले यसै गरी तदारुकता र असल नियतका साथ मार्गदर्शन र नेतृत्व प्रदान गरिरहने विश्वास व्यक्त गरेको छ ।
वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले चाल्ने यस्ता सकारात्मक कदमहरूमा व्यवसायीहरूको छाता संगठन संघको सधैँ साथ र समर्थन रहने समेत जनाइएको छ । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्