नेभिगेशन
अर्थतन्त्र

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता

विपद्पछिको पुनःस्थापना, लगानी प्रवर्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच महासंघ सचिवालय, टेकुमा भेटवार्ता भएको छ । महासंघको सचिवालय, टेकुमा आइतबार भएको भेटवार्तामा रसुवालगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग–व्यवसायको पुनःस्थापना, लगानीको वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको थियो । 
छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवर्धनका लागि आपसी समन्वयलाई थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहेको उल्लेख गर्दै प्रभावित उद्योग–व्यवसायलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माणमा प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए । 
उनले प्रदेश सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताए । ‘महासंघले स्थानीय स्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनःनिर्माणमा काम गर्न खोजिरहेको छ । यस्तै विपद् रोजगार बैक स्थापना गर्दै आवश्यक्ताको  आधारमा तालिम प्रदान गर्दै व्यवसायमा लाग्न चाहनेलाई सहयोग गर्न महासंघ तयार छ ।’ उनले भने । 
मुख्यमन्त्री थापाले विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सराहनीय रहेको चर्चा गर्दै विपदमा परेका बालबालिकाको शिक्षा, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुनर्जीवनका लागि महासंघसँग सहकार्य आवश्यक रहेको बताए ।  
उनले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न सकिने प्रस्तावसमेत राखे । ‘बागमती प्रदेश प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रलाई महŒवपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा जानु पर्दछ । निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’, मुख्यमन्त्री थापामगरले भने ।  
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन भएका तर काम गर्न इच्छुक नागरिकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताए ।  उनले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसँग जोडन् महासंघको सहयोग आवश्यक रहने बताए । 
महासंघका अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न सक्ने बताए ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिमार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावनालाई पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताए । 
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघका केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा देवीप्रकोप समितिका सभापति राजकुमार कार्की लगायतले नेपाल चीन रसुवा नाका पूर्णरुपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोराला नाका मात्र सञ्चालनमा रहेको अवस्थामा चीनसंगको व्यापारका लागि  समस्या सिर्जना हुने भन्दै विकल्पका बारेमा सोच्नु पर्ने धारणा राखेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्