नेभिगेशन
मनोरञ्जन

प्रकाश दूतराजको लोकसंगीत सांगीतिक समूह

कलाकार प्रकाश दूतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसंगीत सांगीतिक समूह) सुरुआत गरेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको समारोहमा दूतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो । 

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताउनुएका दूतराजले नेपालमै पहिलो पटक लोकसंगीत सांगीतिक समूह बनाएको बताए । 

‘यो नेपालको पहिलो लोकसंगीत ब्यान्ड हो,’ उनको दाबी छ, ‘विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरुआत गरेको छु ।’

दूतराजले अबको सांगीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने जानकारी गराए । ‘करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकामा खुसी र उत्साही छु,’ उनले भने, ‘ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्धन गर्ने मेरो उद्देश्य हो ।’ 

दूतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवाधनसहित १२ कलाकार समावेश भएका छन् ।  ब्यान्डले नेपालमा सांगीतिक टुरको समेत तयारी गरिरहेको जनाएको छ । उनका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना झ्यालै मालगायतका लोकगीत चर्चित छन् ।

यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो । आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भने, ‘म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौं, विपन्न समुदायका प्रकाशको संघर्ष र मिहेनत प्रेरणादायी छ ।’

दूतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेर मनोरञ्जन लिएका थिए । प्रस्तुतिअघि आफ्नो विगतका संघर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दूतराजले आगामी सांगीतिक योजनामा पनि साथ र सहयोग गर्न अपिल गरे । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्