नेभिगेशन
अर्थतन्त्र

एक महिनामै निर्जीवन बीमाको कारोबार ५४ अर्ब नाघ्यो

बाग्मतीमा मात्रै ३८ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ५४ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको साउन महिनाको प्रगति विवरणअनुसार मुख्य निर्जीवन बीमक र लघु निर्जीवन बीमकले गरी कुल ५४ अर्ब १५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
बीमा प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार एक महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी गरेका छन् । ती बीमालेखअन्तर्गत कुल १ खर्ब ९८ अर्ब ५२ करोड ४१ लाख ७५ हजार रुपैयाँ बराबरको बीमाङ्क कायम भएको छ ।
प्रदेशगत रूपमा बाग्मती प्रदेश एक्लैले ३८ अर्ब ६ करोड ६२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो कुल व्यवसायको ठूलो हिस्सा हो । बीमालेख संख्यामा पनि बाग्मती नै अगाडि छ ।
बीमाको विधागत कारोबारमा भने मोटर र सम्पत्ति बीमा अगाडि देखिएका छन् । साउनमा मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै १ लाख २५ हजार ४३१ वटा बीमालेख जारी भएका छन् । यसबाट कम्पनीहरूले १२ अर्ब २२ करोड ९६ लाख ३० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै, सम्पत्ति बीमाबाट १६ अर्ब ५७ करोड ५२ लाख ८० हजार रुपैयाँ बीमाशुल्क उठेको छ । सम्पत्ति बीमामा ३६ हजार ७७७ वटा बीमालेख जारी भएका छन् । बीमाशुल्कका आधारमा सम्पत्ति बीमा निर्जीवन बीमाको सबैभन्दा ठूलो क्षेत्र बनेको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट पनि उल्लेख्य कारोबार भएको तथ्यांक बीमा प्राधिकरणको छ । प्राधिकरणका सूचना अधिकारी थापाले भने,‘ यस क्षेत्रमा १ हजार ६३९ वटा बीमालेख जारी हुँदा ७ अर्ब ५८ करोड ७८ लाख ४० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । विविध बीमाबाट ५ अर्ब ९६ करोड ९० लाख, सामुद्रिक बीमाबाट ४ अर्ब २९ करोड १० लाख १० हजार र स्वास्थ्य बीमाबाट ३ अर्ब २३ करोड २५ लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।’
हिमालयन एभरेस्ट अगाडि
कम्पनीगत रूपमा हेर्दा साउनमा हिमालयन एभरेस्ट इन्स्योरेन्स सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । कम्पनीले २७ हजार ८७१ वटा बीमालेख जारी गर्दै ५ अर्ब ६२ करोड ५१ लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले २२ हजार ९६४ वटा बीमालेखबाट ५ अर्ब ५३ करोड २६ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
एनएलजी इन्स्योरेन्सले १९ हजार ७५६ वटा बीमालेखबाट ५ अर्ब ३४ करोड ६७ लाख २० हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्सले २७ हजार ६५२ वटा बीमालेख जारी गरी ५ अर्ब १२ करोड २० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २० हजार ६६६ वटा बीमालेखबाट ४ अर्ब ६७ करोड ६५ लाख ७० हजार रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १८ हजार ५५७ वटा बीमालेखबाट ४ अर्ब ४७ करोड १३ लाख ४० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
बीमांकका आधारमा भने आइजीआई प्रुडेन्सियल अगाडि देखिएको छ । कम्पनीले साउनमा जारी गरेका बीमालेखको कुल बीमांक ३० खर्ब ४ अर्ब ५० करोड ५३ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले ४ अर्ब ४३ करोड ७० लाख ४० हजार, नेको इन्स्योरेन्सले ३ अर्ब ८० करोड ८५ लाख ३० हजार र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ३४ लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
युनाइटेड अजोडले मुख्य निर्जीवन बीमकहरूमध्ये सबैभन्दा धेरै २७ हजार ९८३ वटा बीमालेख जारी गरेको छ ।
लघु बीमाको कारोबार अझै सानो
लघु निर्जीवन बीमा कम्पनीहरूको कारोबार भने मुख्य बीमकको तुलनामा निकै सानो देखिएको छ । चारवटा लघु निर्जीवन बीमकले साउनमा २५ हजार ८ वटा बीमालेख जारी गरी ७ करोड ३१ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
लघु बीमकमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अगाडि छ । कम्पनीले ७ हजार २३० वटा बीमालेखबाट २ करोड २६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले ५ हजार ९९३ वटा बीमालेखबाट १ करोड ७८ लाख ८९ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ६ हजार ५९५ वटा बीमालेखबाट १ करोड ७६ लाख ८० हजार रुपैयाँ संकलन गरेका छन् । ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५ हजार १९० वटा बीमालेखबाट १ करोड ४९ लाख ८ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।
मुख्य बीमकहरूले जारी गरेका लघु बीमालेखसमेत जोड्दा साउनमा कुल लघु बीमालेख संख्या २५ हजार ६९२ पुगेको छ ।
बाग्मतीमा मात्रै ३८ अर्बभन्दा बढी
प्रदेशगत रूपमा निर्जीवन बीमा व्यवसायको केन्द्र बाग्मती प्रदेश बनेको छ । साउनमा बाग्मतीमा १ लाख २३ हजार ३८९ वटा बीमालेख जारी हुँदा ३८ अर्ब ६ करोड ६२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

बाग्मतीपछि लुम्बिनी प्रदेशमा ४ अर्ब २७ करोड १७ लाख ९० हजार रुपैयाँ र कोशी प्रदेशमा ४ अर्ब १९ करोड ६९ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
मधेश प्रदेशमा ३ अर्ब ५३ करोड ७३ लाख ५० हजार, गण्डकीमा २ अर्ब ५५ करोड ४५ लाख २० हजार, सुदूरपश्चिममा ९९० लाख ११ हजार र कर्णालीमा ३९८ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
कर्णालीमा साउनभर ४ हजार १३४ वटा मात्र बीमालेख जारी भएका छन् । यसले राजधानी तथा आर्थिक गतिविधि बढी केन्द्रित क्षेत्रको तुलनामा दुर्गम प्रदेशमा निर्जीवन बीमाको पहुँच अझै कमजोर रहेको देखाउँछ ।
मोटर बीमामा ठूलो पहुँच, कृषि बीमामा सीमित कारोबार
साउनको तथ्यांकले निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको पहुँच व्यापक रहेको देखाएको छ । कुल बीमालेख संख्यामा मोटर बीमाको हिस्सा ठूलो छ । तर बीमाशुल्कका आधारमा सम्पत्ति बीमा अझै अगाडि छ ।
कृषि तथा बाली बीमामा १८ हजार ६४० वटा बीमालेख जारी भएका छन् । यसबाट १ अर्ब ९२ करोड २७ लाख ४० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
हवाई बीमामा बीमालेख संख्या २६ मात्रै भए पनि १ अर्ब ३४ करोड ४७ लाख १० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसले बीमालेखको संख्या र बीमाशुल्कको आकारबीच ठूलो अन्तर हुने क्षेत्रसमेत रहेको देखाउँछ ।
दायित्व बीमामा भने १०२ वटा बीमालेखबाट १ करोड २९ लाख ५९ हजार रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको छ ।
समग्रमा साउनको तथ्यांकले नेपालको निर्जीवन बीमा बजारमा बाग्मती प्रदेशको अत्यधिक केन्द्रीकरण, मोटर बीमाको व्यापक पहुँच र सम्पत्ति तथा ठेक्का–इन्जिनियरिङ बीमाबाट ठूलो रकम संकलन हुने प्रवृत्ति देखाएको छ । अर्कोतर्फ कर्णाली, सुदूरपश्चिमलगायतका प्रदेशमा बीमा पहुँच विस्तार गर्न अझै ठूलो सम्भावना रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्