नेभिगेशन
अर्थतन्त्र

जलविद्युत क्षेत्रका ८६८ जना सम्पर्कविहीन, १० को शव फेला

काठमाडौं । केही दिनदेखि भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको जलविद्युत क्षेत्रले अपूरणीय क्षति व्यहोर्नुपरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार यी दुई नदी जलाधार क्षेत्रमा रहेका कुल १२ वटा जलविद्युत आयोजनाहरू बाढीबाट नराम्ररी प्रभावित भएका छन् । यस प्राकृतिक विपत्तिमा परी हालसम्म ८६८ जना कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन भएका छन् भने केहीको शव फेला परेको छ ।
बाढीबाट कुल ६६९ मेगावाट क्षमताका आयोजनाहरूमा असर परेको छ । यसमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजना (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा आयोजना (३८८ मेगावाट) रहेका छन् । बाढीको प्रभाव यति भीषण छ कि रसुवामा मात्रै ६ वटा आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
अपर त्रिशूली–१ मा ठूलो मानवीय क्षति
२१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा ठूलो क्षति देखिएको छ । आयोजनाका अनुसार त्यहाँ कार्यरत १ हजार ४३३ कामदारमध्ये ४९७ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेहरूमा ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक समेत रहेका छन् ।
सोमबार नेपाली सेनाको टोलीले अडिट नम्बर ३ बाट माथिल्लो सुरुङतर्फ खोजी कार्य सुरु गरे पनि लेदो र डेब्रिजको बहाव उच्च भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । आयोजना स्थलबाट हालसम्म १० जनाको शव निकालिएको छ भने ९३६ जनाको सकुशल उद्धार गरिएको छ । बाँधतर्फको सुरुङसम्म पुग्न ४ किलोमिटर लामो बाटो पार गर्नुपर्ने र त्यहाँ लेदो भरिएकाले भित्र फसेकाहरूको अवस्था अझै अज्ञात छ ।
रसुवाका अन्य आयोजनाहरूको अवस्था
रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) का ९३ जना अझै सम्पर्कविहीन छन् । त्यहाँ आइतबार पनि उद्धारको प्रयास गरिएको थियो, तर सफलता प्राप्त हुन सकेको छैन । यस्तै, निर्माणाधीन रसुवा–भोटेकोशी (१२० मेगावाट) का ३ जना, लाङटाङ खोलाका ३९ जना र चिलिमे जलविद्युतका ६ जना सम्पर्कविहीन छन् । मैलुङ खोला जलविद्युत आयोजनाका ७ जनाको अवस्था पनि अज्ञात रहेको रिपोर्टमा उल्लेख छ ।
त्रिशूली र देवीघाट जलविद्युत केन्द्रमा पनि बाढीले क्षति पु¥याएको छ । त्रिशूली जलविद्युत केन्द्रका ३ जना (२ सुरक्षागार्ड र १ कर्मचारी) सम्पर्कविहीन छन् भने ७० जनालाई सुरक्षित स्थानमा सारिएको छ । माथिल्लो त्रिशूली ३–बी का १७८ जना र माथिल्लो त्रिशूली ३–ए का ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
चिलिमेमा उद्धारको प्रयास र प्राविधिक चुनौती
२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको पहुँच सुरुङमा पानी भरिएकाले उद्धार कार्य जटिल बनेको छ । सोमबार नेपाली सेनाको टोली सुरुङभित्र १२५ मिटरसम्म पुग्न सफल भएको छ । तर, सुरुङभित्र निरन्तर पानी र लेदो भरिने क्रम जारी रहेकाले मोटर चलाएर पानी फाल्ने (डिवाटरिङ) काम भइरहेको छ ।
आयोजनाका कार्यकारी निर्देशक बाबुराम बजगाईंका अनुसार, सुरुङभित्रको लेदो हटाउन सोमबार रातभर पानी सुकाउने काम गरिनेछ र सम्भव भएमा मंगलबारदेखि मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाइनेछ । विद्युतगृहभित्र फसेका कर्मचारीहरूको अवस्थाबारे अझै कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
उद्धार र खोजी कार्यमा कठिनाइ
बाढी र पहिरोले सडक सम्पर्क विच्छेद भएकाले र आयोजनाका संरचनाहरूभित्र बाक्लो लेदो जमेकाले खोजी कार्य सुस्त भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय संयन्त्रहरू परिचालन गरिए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण उद्धार टोलीहरू घटनास्थलसम्म पुग्न चुनौतीपूर्ण बनेको छ ।
कम्पनीहरूले दिएको जानकारी अनुसार, कतिपय कामदारहरू लामो समयपछि सम्पर्कमा आइरहेकाले सम्पर्कविहीनको संख्यामा केही थपघट हुनसक्ने सम्भावना छ । यद्यपि, ठूलो संख्यामा विदेशी प्राविधिक र स्थानीय कामदारहरू हराइरहेकाले ऊर्जा क्षेत्रमा शोकको वातावरण छाएको छ ।
सरकारले बाढी प्रभावित आयोजनाहरूमा खोजी र उद्धारलाई प्राथमिकता दिन निर्देशन दिएको छ । तर, क्षतिको यथार्थ विवरण संकलन गर्न र विद्युत उत्पादन पुनः सुचारु गर्न अझै केही समय लाग्ने देखिएको छ । बाढीले पु¥याएको यो भौतिक र मानवीय क्षतिले नेपालको ऊर्जा लक्ष्यमा समेत गम्भीर धक्का पु¥याएको विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्