नेभिगेशन
साहित्य

रुस्दीलाई नेशनल बुक अवार्ड

अमेरिकी नागरिक बनेको एक दशकपछि भारतीय मूलका चर्चित लेखक सलमान रुस्दीले अमेरिकी साहित्यको प्रतिष्ठित सम्मान ‘नेसनल बुक अवार्ड’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
७९ वर्षीय रुस्दीलाई अमेरिकी साहित्यमा विशिष्ट योगदानका लागि प्रदान गरिने यो सम्मान आगामी नोभेम्बर १८ मा न्यू योर्कस्थित म्यानहट्टनमा हुने राष्ट्रिय पुस्तक पुरस्कार समारोहमा प्रदान गरिने बताइएको छ । उनका पुराना मित्र तथा भारतीय मूलकी लेखिका किरण देसाईले उनलाई पदक प्रदान गर्नेछिन् ।
यो सम्मान पाउने रूस्दी ३९औँ व्यक्ति हुन् । उनी अमेरिकाबाहिर जन्मिएका सम्मानित हुने चौथो लेखक पनि हुन् । यसअघि क्यानडामा जन्मिएका साउल बेलो, चिलीकी इसाबेल आयेंदे र स्विडेनमा जन्मिएका आर्ट स्पिगेलम्यानले यो सम्मान पाइसकेका छन् ।
मुम्बईमा जन्मिएका रुस्दी किशोरावस्थामै बेलायत गएका थिए । लामो समय बेलायतमा बसेपछि उनी अमेरिकामा बस्न थाले र करिब एक दशकअघि अमेरिकी नागरिक बने । उनले आफू नागरिक बनेपछि अमेरिकासँग आफ्नो सम्बन्ध अझ गहिरो महसुस भएको बताउँदै यस सम्मानले पनि आफूलाई अमेरिकी साहित्यको हिस्सा भएको अनुभूति गराएको बताएका छन् ।
रुस्दीले २० भन्दा बढी पुस्तक लेखेका छन् । सन् १९८१ मा प्रकाशित ‘मिडनाइट्स चिल्ड्रेन’ले बुकर पुरस्कार जितेको थियो र यसलाई समकालीन उत्कृष्ट उपन्यासमध्ये एक मानिन्छ । सन् १९८८ को ‘द स्याटानिक भर्सेस’ भने विवादास्पद रह्यो । पुस्तकमा इस्लामका पैगम्बर मुहम्मदसँग सम्बन्धित प्रसंगलाई लिएर विश्वभर विरोध भएपछि इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले रुस्दीको हत्या गर्न फतवा जारी गरेका थिए ।
सन् २०२२ मा न्यू योर्कमा आयोजित साहित्यिक कार्यक्रममा रुस्दीमाथि मञ्चमै छुरा प्रहार भएको थियो । आक्रमणपछि उनले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गरेका थिए । उक्त पुस्तक सन् २०२४ मा राष्ट्रिय पुस्तक पुरस्कारका लागि मनोनीत समेत भएको थियो ।
रुस्दीको जीवन र लेखन दक्षिण एसिया, लन्डन र न्यू योर्कसँग जोडिएको छ । आफूलाई आप्रवासी लेखकका रूपमा चिनाउने उनी अमेरिकी साहित्य विश्वका विभिन्न ठाउँबाट आएका लेखकहरूले समृद्ध बनाएको बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य