नेभिगेशन
प्रवास

भारतमा १० माओवादीलाई मृत्युदण्ड

नयाँदिल्ली (एजेन्सीहरू) – भारतको छत्तीसगढमा माओवादी आक्रमणमा संलग्न १० जनालाई मृत्युदण्ड सुनाइएको छ । सन् २०१३ मा कांग्रेस नेताहरूको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर गरिएकालाई मृत्युदण्ड दिइएको हो । बस्तर जिल्लाको जगदलपुरस्थित राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) को विशेष अदालतले बुधबार सजाय सुनाएको हो । अदालतले उनीहरूलाई आपराधिक षड्यन्त्र र हत्यासहित विभिन्न अभियोगमा दोषी ठहर गरेको थियो । गत सेप्टेम्बर ५ मा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि फैसला सुरक्षित राखिएको थियो ।
सजाय पाउनेमा माओवादी कार्यकर्ताहरू प्रमिला मोडियाम, चैतु लेकाम उर्फ मुन्ना, सुमित्रा पुनेम, कोसा कवासी, मुक्का मण्डावी, मरकाम देवा, आयत मरकाम, बजामी सेना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सजाय सुनाइएकामध्ये दुई जनाको नाम खुलेको छैन । भारतीय सञ्चारमाध्यमले घटनाका मुख्य माओवादी नेतामध्ये टिप्पिरी तिरुपति उर्फ देवुजी, बारसे देवा र गणेश उइकेलाई पनि आरोपपत्रमा उल्लेख गरेको जनाएका छन् । तर उनीहरू मृत्युदण्ड पाएका १० जनामध्ये हुन् भन्ने पुष्टि भइसकेको छैन । 
घटना सन् २०१३ मे २५ मा छत्तीसगढको झिरम घाटीमा भएको थियो । विधानसभा निर्वाचनअघि कांग्रेसले आयोजना गरेको ‘परिवर्तन ¥याली’बाट फर्किएको नेताहरूको टोलीलाई माओवादीले आक्रमण गरेको थियो । बस्तरको दुर्गम वन क्षेत्रमा पर्ने सडकमा २० वटा सवारीसाधनको टोलीलाई निसाना बनाइएको थियो । एनआईएका अनुसार आक्रमणकारीले पहिले विस्फोट गराएका थिए । त्यसपछि अन्धाधुन्ध गोली चलाउँदै ग्रिनेड प्रहार गरेका थिए । आक्रमणमा कांग्रेसका तत्कालीन प्रदेश अध्यक्ष नन्दकुमार पटेल र उनका छोरा दिनेश मारिएका थिए । पूर्वविपक्षी नेता महेन्द्र कर्मा र पूर्वमन्त्री विद्याचरण शुक्ल पनि मारिएका थिए । घटनामा २७ जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।
एनआईएले अनुसन्धानपछि १० जना माओवादी कार्यकर्ताविरुद्ध अभियोग दर्ता गरेको थियो । अदालतले उनीहरूलाई प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सँग आबद्ध रहेको ठहर गरेको छ । मुद्दामा १०१ जना साक्षीको बयान लिइएको थियो । एक अभियुक्तको सुनुवाइका क्रममा मृत्यु भएको थियो । अन्य २८ जना अभियुक्त अझै फरार रहेको समाचारमा उल्लेख छ ।
भारतमा मृत्युदण्ड फाँसी दिएर कार्यान्वयन गरिन्छ । तर यस्तो सजाय विरलै कार्यान्वयन हुने गरेको छ । पछिल्लो पटक सन् २०२० मार्चमा दिल्ली सामूहिक बलात्कार र हत्या प्रकरणका चार दोषीलाई फाँसी दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्