नेभिगेशन
अर्थतन्त्र

घर बनाउदा वास्तुविद्का आफ्नै मान्यता

काठमाडौं । घर बनाउँदा नक्सा, जग र संरचनाको मजबुतीमा ध्यान दिनु स्वाभाविक हो । तर घरको कुन दिशामा शौचालय, भान्सा वा शयनकक्ष बनाउने भन्ने विषयमा पनि वास्तुशास्त्रले आफ्नै मान्यता राख्छ । यही मान्यताअनुसार वास्तु तथा डाउजिङ विज्ञ डा. माधव मंगल जोशीले घरको उत्तर–पूर्व अर्थात् ईशान कोणमा शौचालय नबनाउन सुझाव दिएका छन् ।
भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ मा आयोजित ‘वास्तु र हाम्रो जीवनशैली’ विषयक छलफलमा उनले यस्तो सुझाव दिएका हुन् । उनका अनुसार ईशान कोणलाई सफा, खुला र हलुका राख्नुपर्छ । त्यहाँ शौचालय वा फोहोर राख्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने उनको दाबी छ । आफूले अध्ययन गरेका घरको उदाहरण दिँदै उनले करिब सय घरको अध्ययनमा ईशान कोणमा शौचालय भएका ९४ प्रतिशत घरका परिवारमा क्यान्सर वा गम्भीर पेटसम्बन्धी समस्या देखिएको उनले बताए ।
जोशीले घर निर्माणको सुरुदेखि नै वास्तुका पक्ष विचार गर्नुपर्ने बताए । घरको कुन भाग खुला राख्ने, कहाँ भारी संरचना बनाउने र पानीको स्रोत कहाँ राख्ने भन्ने विषय महŒवपूर्ण हुने उनको भनाइ छ ।
उनका अनुसार दक्षिण–पश्चिम अर्थात् नैऋत्य कोणलाई बन्द र भारी राख्नुपर्छ। घरमुलीको कोठा, दराज तथा गह्रौँ सामग्री त्यहाँ राख्न उपयुक्त हुने उनले बताए । उत्तर–पूर्वमा भने पूजा, ध्यान र आध्यात्मिक अभ्यासका लागि ठाउँ बनाउन सकिने उनको सुझाव छ ।

भान्सा निर्माणका लागि दक्षिण–पूर्व अर्थात् आग्नेय कोणलाई प्राथमिकता दिनुपर्ने उनले बताए । त्यो सम्भव नभए उत्तर–पश्चिम अर्थात् वायव्य कोणमा भान्सा बनाउन सकिने उनको भनाइ छ । इनार तथा बोरिङका लागि उत्तर वा पूर्व दिशा उपयुक्त मानिने उनले उल्लेख गरे ।
घरको बनोटसँगै जग्गाको आकारलाई पनि महŒव दिनुपर्ने जोशीको सुझाव छ । सकेसम्म मिलेको आकारको जग्गा छनोट गर्नुपर्ने उनले बताए ।
छलफलमा दैनिक जीवनमा वास्तुका मान्यता प्रयोग गर्ने विषय पनि उठ्यो । जोशीले दक्षिणतर्फ सिरानी राखेर सुत्न सुझाव दिए । बालबालिकाका लागि पूर्वतर्फ शिरानी राख्न सकिने उनको भनाइ थियो । उत्तरतर्फ शिरानी राखेर सुत्न वास्तुमा प्रतिकूल मानिने बताए ।
ऐना उत्तर वा पूर्वतर्फको भित्तामा राख्नुपर्ने उनको सुझाव छ । भ¥याङमुनि पूजाकोठा, शौचालय वा भान्सा बनाउन नहुने वास्तु मान्यता पनि उनले प्रस्तुत गरे ।
पहिल्यै बनेका घरमा वास्तु नमिलेको अवस्थामा सबै संरचना भत्काउन आवश्यक नपर्ने उनले बताए । ईशान कोणमा रहेको शौचालय हटाउन नसकिए क्रिस्टल टर्मिनेटर राख्ने वा सिसाको सेल्फमा नुनिलो पानी राख्ने उपाय उनले सुझाए । जोशीले मानिसको जीवनमा कर्म, भाग्य र वास्तुको समान भूमिका रहने धारणा पनि राखे । उनले तीनै पक्षलाई ३३.३३ प्रतिशतका दरले व्याख्या गरे । 
छलफलमा वास्तुविद् मेदिना जोशीले ‘वास्तु पुरुष’को अवधारणा प्रस्तुत गरिन् । परम्परागत मान्यताअनुसार वास्तु पुरुषको टाउको उत्तर–पूर्व र खुट्टा दक्षिण–पश्चिमतर्फ रहने उनले बताइन् । त्यसअनुसार घरका विभिन्न भागको उपयोग निर्धारण गर्न सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्