नेभिगेशन
मनोरञ्जन

रेड कार्पेटमा क्रुज

स्पेनी अभिनेत्री पेनेलोप क्रुज अहिले टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई नयाँ चलचित्रका कारण चर्चामा छिन् । ५२ वर्षीया क्रुजले यसपटक ‘ला बोला नेग्रा’ र ‘बंकर’मार्फत महोत्सवमा सहभागिता जनाएकी छन् । ‘ला बोला नेग्रा’को प्रदर्शनसँगै उनलाई टोरन्टो महोत्सवले विशेष सम्मानसमेत प्रदान गरेको छ ।
क्रुजले १६ वर्षको उमेरमै टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेकी हुन् । सन् १९९२ को ‘जामोन, जामोन’ उनको पहिलो चर्चित चलचित्रमध्ये एक बन्यो । त्यसपछि उनले स्पेनी चलचित्र हुँदै अन्तर्राष्ट्रिय सिनेमामा आफ्नो स्थान बनाइन् ।
निर्देशक पेद्रो अल्मोदोभारसँगको सहकार्यले उनको अभिनय यात्रालाई नयाँ उचाइ दियो । ‘अल अबाउट माइ मदर’, ‘भोल्भर’, ‘ब्रोकन एम्ब्रेसेज’ र ‘पेन एन्ड ग्लोरी’ उनका चर्चित चलचित्र हुन् । ‘भोल्भर’का लागि उनले कान्स चलचित्र महोत्सवमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।
सन् २००८ को ‘भिकी क्रिस्टिना बार्सिलोना’बाट क्रुजले उत्कृष्ट सहायक अभिनेत्रीको ओस्कार पुरस्कार जितिन् । उनी ओस्कार जित्ने पहिलो स्पेनी अभिनेत्रीसमेत हुन् । त्यसपछि ‘पाइरेट्स अफ द क्यारिबियन,’ ‘द काउन्सेलर,’ ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’ र ‘प्यारालल मदर्स’जस्ता चलचित्रमा अभिनय गरिन् ।
अहिले उनी अभिनयमा निरन्तर सक्रिय छिन् । टोरन्टोमा प्रस्तुत ‘बंकर’मा उनी पति तथा अभिनेता हाभियर बार्डेमसँग देखिएकी छन् । फ्लोरियन जेलर निर्देशित यो मनोवैज्ञानिक चलचित्रले दाम्पत्य सम्बन्ध र कठिन निर्णयको कथा प्रस्तुत गर्छ ।
‘ला बोला नेग्रा’ भने फेडेरिको गार्सिया लोर्काको अधुरो नाटकबाट प्रेरित चलचित्र हो । तीन फरक कालखण्डका पात्रमार्फत इच्छा, पहिचान, पीडा र इतिहासको कथा यसमा प्रस्तुत गरिएको छ । चलचित्रमा क्रुजले ‘नेने रोमेरो’को भूमिका निर्वाह गरेकी छन् ।
यस वर्षको टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सेप्टेम्बर २० सम्म सञ्चालन हुँदैछ । करिब तीन सय चलचित्र प्रस्तुत भइरहेको १० दिने महोत्सवले स्वतन्त्र र अन्तर्राष्ट्रिय चलचित्रलाई विशेष स्थान दिएको छ । क्रुजको उपस्थिति यसपटकको महोत्सवका चर्चित आकर्षणमध्ये एक बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्