उनको पसलमा के छ भन्ने जान्न फेसबुक र टिकटक चलाउनेलाई कण्ठ हुन्छ । अर्डर गर्छन्, सामान कुरियरबाट आइपुरग्छ । कमला बानियाँ थापाको वारि बेनीमा मार्ट छ । पर्वतको जलजला–३ बेनीमा थापा लोकल मार्ट । दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे ।
म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । ‘टिकटक र फेसबुकमा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहक बढे, आम्दानी पनि मनग्ये भइरहेको छ,’ उनी भन्छिन् ।
थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमहलगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ । ‘फेसबुक र टिकटकबाट प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भयो,’ म्याग्दीको धवलागिरि–७ धारापानीकी थापाले भनिन्, ‘पहिला यहाँका लोकल उपभोक्तामै सीमित थियौं । अहिले सामान भए ग्राहकको कमी छैन ।’
१० वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले २०७७ सालमा आफ्नै घरमा व्यवसाय थालिन् । सुरुवातमा व्यापार गर्न ज्ञान, सीपको कमीले घाटा ब्यहोर्नु परेको अझै सम्झन्छिन् ।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि नयाँ अनुभव प्राप्त भयो । अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको थापाले सुनाइन । कृषक र उद्यमीबाट ल्याएको सामान उनी ‘फेसबुक पेज’ र ‘टिकटक’मार्फत सार्वजनिक गर्छिन् । सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर सामान खरिद गर्न आउँछन् । उनका अनुसार बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीले समेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन् । स्थानीय ग्राहक आफैं पसलमा आएर सामान लैजाने गरेका छन् । देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ । विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्ने गरेका छन् ।
सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको संख्यासमेत बढेको थापाको अनुभव छ । ‘सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि हुनुहुन्छ,’ उनी भन्छिन् । हाल थापा लोकल मार्टबाट वार्षिक ३५ देखि ४० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ । खर्च वार्षिक राम्रै बचत हुने गरेको छ ।
उनका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले व्यवसायमा सघाएका छन् । कामको चाप बढेका बेला स्थानीयलाई समेत आंशिक रोजगारी दिने गरिएको छ । ‘पहिला बजार खोज्दै सामान बेच्नुपथ्र्यो । अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ,’ थापा भन्छिन्, ‘सामाजिक सञ्जालले हाम्रो व्यवसायलाई नयाँ बजार दिएको छ ।’ स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ ।
स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढंगले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पु¥याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने थापाको अनुभव छ ।
‘महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ । त्यसका लागि आफ्नो सीप र क्षमतालाई निरन्तर परिमार्जन गर्दै उद्यमशीलतामा लाग्न आवश्यक छ,’ उनले भनिन्, ‘इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोग गर्न सके गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ ।’
व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नेपालका अन्य ठाउँमा समेत विस्तार गर्ने थापाको योजना छ । सामाजिक सञ्जालको पहुँचलाई थप विस्तार गर्दै म्याग्दी, मुस्ताङ र पर्वतमा उत्पादन हुने थप रैथाने वस्तुलाई बजारमा ल्याउने उनको लक्ष्य छ ।
गाउँका उत्पादनलाई गाउँमै सीमित नराखी ‘डिजिटल’ माध्यमबाट देश–विदेशका उपभोक्तासम्म पु¥याउने थापाको प्रयासले सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादनको बजारीकरण र साना उद्यमको विस्तार गर्ने प्रभावकारी साधन बन्न सक्ने उदाहरण प्रस्तुत गरेको छ । (रासस)