नेभिगेशन
अर्थतन्त्र

अब गोदावरी, भक्तपुर, कीर्तिपुरमा पनि रात्रीकालिन  साझा यातायात

पूर्ण डिजिटलाइजेसनसँगै रात्रिकालीन बस सेवा चार गुणाले विस्तार

काठमाडौं । साझा यातायातले आफ्नो दैनिक कार्यसञ्चालन, टिकेटिङ र भाडा भुक्तानी प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाएको छ । सार्वजनिक यातायातलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यअनुसार कम्पनीले सम्पूर्ण प्रणाली स्तरोन्नति गरेको हो । 
नगदरहित यात्रालाई प्रवर्धन गर्ने उद्देश्यले साझा यातायातले बसभित्रै डिजिटल टिकेटिङको व्यवस्था गरेको छ । अब यात्रुले जुनसुकै बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड ट्याप गरेर वा क्यूआर कोड स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न कम्पनीले लक्की ड्र योजना पनि ल्याएको छ । डिजिटल प्रणालीमार्फत काटिएका टिकटहरू दैनिक, साप्ताहिक र मासिक रूपमा आकर्षक उपहारका लागि समावेश हुनेछन् । साथै, नेपालपेसँगको समन्वयमा ट्राभल कार्ड जारी गर्ने तयारीसमेत भइरहेको छ ।
साझा यातायातले आफ्ना सम्पूर्ण बसको प्रत्यक्ष गतिविधि, लोकेसन ट्र्याकिङ, व्यवस्थापन, यात्रु चाप तथा चालक दलको कार्यसम्पादन अब एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गर्ने व्यवस्था मिलाएको छ । यसले कुनै पनि प्राविधिक समस्या, ट्राफिक जाम वा आकस्मिक अवस्थामा तुरुन्तै समन्वय गर्न मद्दत पुग्नेछ भने सवारी साधनको समयतालिकालाई थप प्रभावकारी बनाउनेछ । यात्रुले साझा प्लस मोबाइल एपमार्फत बस कहाँ आइपुग्यो भनी वास्तविक समयमै ट्र्याक गर्न सक्नेछन् । बसभित्र २४ सै घण्टा सीसीटीभी क्यामरा, निःशुल्क वाइफाइ र डिजिटल सूचना बोर्डको व्यवस्था गरिएको छ । रात्रि बसहरूमा सुरक्षाका लागि महानगर प्रहरीको उपस्थिति पनि रहनेछ ।
संविधान दिवस २०८३ को अवसर पारेर शनिवारदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा ठूलो मात्रामा विस्तार गरिएको छ । गत वैशाख १ देखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा दुईवटा रुटमा मात्र ७ वटा बसमार्फत परीक्षण सेवा सुरु गरिएको थियो । अब त्यसलाई चार गुणाले बढाएर ६ वटा रुटमा २८ वटा बस सञ्चालन गरिएको छ । यी बसहरू बेलुका ८ बजेदेखि राति ११ बजेसम्म प्रस्थानबिन्दुबाट प्रत्येक करिब २० मिनेटको अन्तरालमा छुट्नेछन् ।
विस्तारित रुटहरूमा ललितपुरको गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा बस, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा बस, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडकस्थित नेपाल वायुसेवा निगमसम्म ४ वटा बस र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस थपिएका छन्  । चक्रपथ सेवा सुरु भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरेर सेवा सञ्चालन भएका हरेक ठाउँमा पुग्न सक्नेछन् र अधिकतम भाडा करिब ८० रुपैयाँ मात्र लाग्ने साझा यातायातले जनाएको छ । यसअघिका नागढुङ्गा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा पनि क्रमशः ४ र ३ वटा बस चल्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहहरूको सहकार्यमा यातायात सेवा विस्तार गरेको बताउँदै भनिन्, ‘पहिलो ९० दिनको परीक्षणमा ६७ हजारभन्दा बढी यात्रुले रात्रि सेवा लिनुभएको छ । अब भक्तपुर, सूर्यविनायक र गोदावरी लगायतका पालिकाहरूलाई समेटेर ६ वटा रुटमा रात्रि बस सेवा विस्तार गर्दैछौँ ।’ उनले परीक्षणकालमा करिब १० लाख रुपैयाँ घाटा देखिएको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रण गर्न डिजिटल भुक्तानी प्रणाली कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन् । राति ९ बजे अनुगमन गर्दा बसहरू खचाखच भरिएका देखिएकाले माग उच्च रहेको उनको भनाइ छ ।
डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई पनि साझेदारीका लागि विशेष आग्रह गरेकी छन् । दुवै पालिकाले प्रस्तावलाई सकारात्मक मानी साझेदारीका लागि इच्छुक रहेको जनाएका छन् । उनले जोड दिँदै भनिन्, ‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन् । धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौंमा काम गर्नुहुन्छ तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरी लगायतका ठाउँमा हुनसक्छ । काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ । राइड सेयरिङ महँगो भएकाले सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्न रात्रिकालीन सेवामा सुधार आवश्यक छ ।’
सेवालाई दिगो बनाउन सम्बन्धित स्थानीय तहहरूबीच वित्तीय साझेदारी र संयुक्त स्वामित्व हुनुपर्ने उनले स्पष्ट पारेकी छन् । एकै पालिकामा आर्थिक भार नपर्ने गरी लागत बाँडफाँड गर्दा सेवा दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । 
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पर्यटन प्रवर्धनका लागि दसैँअगावै सम्पदा क्षेत्रमा निःशुल्क विद्युतीय सटल बस सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । पुल्चोक तथा पाटनढोकाबाट सुरु भई पाटन दरबार स्क्वायर, महाबौद्ध, लगनखेल हुँदै घुम्ने गरी वातावरणमैत्री हरियाली बस चलाउन लागिएको उनले बताए । पाटन दरबार स्क्वायर आउने पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी यो विद्युतीय सटल बस पूर्णतः निःशुल्क सञ्चालन गरिनेछ । उनले ललितपुर महानगरपालिकाले वातावरण प्रदूषण न्यूनीकरणका लागि अब उप्रान्त कुनै पनि जीवाश्म इन्धनबाट चल्ने सवारी साधन खरिद नगर्ने नीतिगत निर्णय गरेको समेत स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्