नेभिगेशन
अर्थतन्त्र

होटेल सब्रिनाको आम्दानी १५ प्रतिशत वृद्धि

काठमाडौं । बुढानीलकण्ठस्थित होटेल सब्रिना लिमिटेडको व्यावसायिक आम्दानी एक वर्षमा करिब १५ प्रतिशतले बढेर ८ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०८२÷८३ मा करिब ३ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।
साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरणलगायत आर्थिक विवरण पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा व्यवसायबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढेको हो । अन्य आम्दानीतर्फ पनि कम्पनीले ६२ लाख ७१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
होटेल सब्रिना अहिले पाँचतारे स्तरमा स्तरोन्नति भइरहेको छ । स्तरोन्नति सम्पन्न भएपछि फ्रान्सेली होटल समूह एकोरको लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ ले व्यवस्थापन सम्हाल्नेछ । त्यसपछि होटल ट्राइब काठमान्डु नामबाट सञ्चालनमा आउनेछ । यो नेपालमा ट्राइब ब्रान्डको पहिलो परियोजना हुने कम्पनीले जनाएको छ ।
स्तरोन्नतिपछि होटेलमा १०० वटा कोठा र तीनवटा रेस्टुरेन्ट रहनेछन् । रुफटप रेस्टुरेन्ट काठमाडौंका ठूला रुफटप रेस्टुरेन्टमध्ये एक बनाउने योजना छ । अध्यक्ष थापाका अनुसार सन् २०२७ भित्रै पाँचतारे होटलका रूपमा ट्राइब ब्रान्डमा सञ्चालनमा ल्याउने लक्ष्य छ ।
यसैबीच कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्