नेभिगेशन
अर्थतन्त्र

घरजग्गा एक्स्पोमा खरिदका लागि धेरैको सोधीखोजी

काठमाडौं । भृकुटीमण्डपमा जारी नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ मा घरजग्गाको दरभाउ सोधखोज गर्ने र खरिदका लागि बुकिङ गर्नेहरु बढेका छन् । चारदिने मेलामा शनिबार पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका छन् । मेला आइतबार समापन हुँदैछ । 
समापनको पूर्वसन्ध्यामा शनिबार प्रदर्शनीस्थलमा सर्वसाधारणको चहलपहल रह्यो । घर तथा जग्गा खरिदबारे बुझ्न आउनेसँगै निर्माण सामग्री, पेन्ट्स, इन्टेरियर, प्रिफ्याब र आवाससम्बन्धी सेवाका स्टलमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित असोज १ गतेदेखि सुरु भएको प्रदर्शनीमा घरजग्गा खरिद–बिक्रीसँगै घर निर्माण र सजावटका सामग्री तथा प्रविधिबारे जानकारी र परामर्श दिने व्यवस्था गरिएको छ । चारदिने प्रदर्शनीमा एक सयभन्दा बढी स्टल राखिएका छन् । 
प्रदर्शनी सुरु भएको पहिलो दिनदेखि नै सर्वसाधारणको चासो बढेको र जग्गा तथा आवासको बुकिङ्ग हुन थालेको प्रदर्शनमा रहेका घरजग्गा व्यवसायीहरुले बताए । बुकिङ्गका साथै अधिक चासो र सोधपुछ भएको अनुभव स्टलमा रहेका व्यवसायीहरुको छ । 
यसले केही वर्षदेखि सुस्त रहेको घरजग्गा बजारमा सर्वसाधारणको रुचि पूर्ण रूपमा हराएको नभई मूल्य, कर्जा सुविधा र खरिदका अवसरअनुसार माग खोजिरहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ । एक्स्पोमा व्यवसायीले यही मनोविज्ञानलाई लक्षित गर्दै घर तथा जग्गामा छुटदेखि वित्तीय सुविधा र अन्य प्रोत्साहनसम्मका योजना अघि सारेका छन् ।
प्रदर्शनीमा घर तथा जग्गा खरिदमा १० देखि २५ प्रतिशतसम्म छुटका योजना सार्वजनिक गरिएका छन् । गुरु ग्रुपले धुलिखेलमा निर्माण गर्न लागेको पाँच आना क्षेत्रफलमा आधारित भिल्लाको मूल्य छुटपछि ७७ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, काठमाडौंको टोखामा निर्माण हुने तीन बेडरुमको घर प्रदर्शनी अवधिमा बुकिङ गर्ने ग्राहकलाई १ करोड ४० लाख रुपैयाँमा उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ । सामान्य मूल्य १ करोड ५० लाख रुपैयाँ रहेको उक्त घरमा प्रदर्शनी अवधिमा बुक गर्दा १० लाख रुपैयाँ छुट हुने बताइएको छ ।
काठमाडौं बाहिरका परियोजनाले पनि उपत्यकाका ग्राहक तान्ने प्रयास गरिरहेका छन् । धनगढी–अत्तरिया, भरतपुर र पोखराका डेभलपरले तुलनात्मक रूपमा सस्तो जग्गा, किस्ताबन्दी तथा फाइनान्स सुविधासहितका परियोजना प्रदर्शनीमा ल्याएका छन् । धनगढी–अत्तरिया क्षेत्रमा रहेको स्वागतनगर ग्रान्ड सिटीले एक्स्पो अवधिमा जग्गा खरिदमा १० प्रतिशतसम्म छुट र ५० प्रतिशतसम्म फाइनान्स सुविधा दिने जनाएको छ । भरतपुरका परियोजनामा पनि कम मूल्यका प्लटलाई मुख्य आकर्षण बनाइएको छ ।
एक्स्पोमा घर तथा जग्गाको मूल्यमा दिइएको छुटसँगै निर्माण सामग्रीका अफरले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । विशेषगरी दसैं नजिकिँदै गर्दा पेन्ट्स कम्पनीहरूले छुट, पुरस्कार र नयाँ उत्पादनसहित ग्राहक आकर्षित गरिरहेका छन् ।
होमल्यान्ड पेन्ट्सले दसैंलाई लक्षित गर्दै रङमा ५० प्रतिशतसम्म छुट दिएको छ । कम्पनीले नयाँ प्रविधिबाट उत्पादित रङसँगै सही तरिकाले पेन्ट्स प्रयोग गर्ने विषयमा समेत जानकारी दिने जनाएको छ ।
जस्मिन पेन्ट्सले ७५ हजार रुपैयाँ बराबरको रङ खरिद गर्ने ग्राहकका लागि लक्की ड्रमार्फत पाँच दिन लन्डन भ्रमणको अवसरसहित विभिन्न पुरस्कार योजना ल्याएको छ । कम्पनीका अनुसार एक जनालाई लन्डन भ्रमण, पाँच जनालाई वासिङ मेसिन, ३५ जनालाई प्रेसर कुकर, १३५ जनालाई मिक्स्चर जार, १७५ जनालाई हट वाटर केटल र ७५० जनालाई भित्ते घडी दिने योजना छ ।
एसियन पेन्ट्सले पनि नयाँ उत्पादन तथा सेवासहित छुटको योजना ल्याएको छ । कम्पनीले १ लाख २५ हजार रुपैयाँको खरिदमा १० हजार रुपैयाँ छुट, १२ वर्षको वारेन्टी भएको वाटरप्रुफ उत्पादन तथा घरमा रङ लगाउँदा विशेषज्ञ पेन्टरसहितको सेवा उपलब्ध गराउने जनाएको छ ।
घर निर्माणमा नयाँ प्रविधि खोजिरहेका ग्राहकका लागि प्रिफ्याब घरसमेत आकर्षण बनेको छ । दुई कोठा र किचेनसहितको प्रिफ्याब घर फाउन्डेसनबाहेक १० लाख रुपैयाँ तथा फाउन्डेसनसहित १२ लाख रुपैयाँमा निर्माण गर्न सकिने प्रस्ताव एक्स्पोमा राखिएको छ । बाढी प्रभावित परिवारको पुनर्वासमा समेत यस्तो प्रविधि प्रयोग गर्न सकिने आयोजकको भनाइ छ ।
प्रदर्शनी केवल घरजग्गा किनबेचमा केन्द्रित नभई सुरक्षित आवास र विपद् उत्थानशील निर्माणको बहसको थलोसमेत बनेको छ । शनिबार सुरक्षित भू–उपयोग, व्यवस्थित बस्ती र विपद् उत्थानशील पूर्वाधारबारे प्राविधिक छलफल भएको छ । विज्ञहरूले जथाभावी सडक तथा बस्ती निर्माणले विपद्को जोखिम बढाइरहेको भन्दै सुरक्षित भूभाग पहिचान गरेर मात्रै बस्ती विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
एक्स्पोमा घरजग्गा व्यवसायीले बिक्रीका अवसरसँगै नीतिगत समस्या पनि उठाएका छन् । हदबन्दी, कित्ताकाट र कर्जाको पहुँचलाई घरजग्गा क्षेत्रको प्रमुख समस्या भन्दै व्यवसायीले नीतिगत सुधारको माग गरेका छन् । 
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल इस्टेट कम्पनीलाई हदबन्दीमा छुट, घरजग्गा कर्जाको लोन–टु–भ्यालु रेसियो ८० प्रतिशत पु¥याउने तथा निश्चित सीमासम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने माग अघि सारेका छन् ।
समापनको दिन आइतबार पनि सर्वसाधारणले घर, जग्गा, अपार्टमेन्ट, निर्माण सामग्री तथा विभिन्न छुट र अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । आयोजकले घर बनाउने वा खरिद गर्ने योजनामा रहेका सर्वसाधारणलाई प्रदर्शनीमा आएर विभिन्न परियोजना, मूल्य, वित्तीय सुविधा र निर्माण प्रविधिबारे तुलना गरेर निर्णय लिन आग्रह गरेको छ ।
असोज १ गतेदेखि सुरु भएको प्रदर्शनी नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको सहआयोजनामा भइरहेको हो । प्रदर्शनीमा हाउजिङ तथा अपार्टमेन्ट, जग्गा विकास आयोजना, बैंक तथा वित्तीय संस्था, बीमा, निर्माण सामग्री, सिमेन्ट, स्टिल, पेन्ट्स, सेनिटरी, इन्टेरियर, सौर्य ऊर्जा, प्रिफ्याब, यूपीभीसी तथा अन्य आवाससम्बन्धी व्यवसाय सहभागी छन् ।
चार दिनको एक्स्पोले एकातर्फ घरजग्गा बजारमा कारोबारको सम्भावना खोजिरहेको व्यवसायीलाई ग्राहकसँग प्रत्यक्ष जोडेको छ भने अर्कोतर्फ सर्वसाधारणलाई एउटै स्थानमा घर, जग्गा, निर्माण सामग्री, प्रविधि र वित्तीय सुविधाबारे जानकारी लिने अवसर दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्