काठमाडौं । रेमिटान्स हिसाब हेरिरहेर खुसी भएकाहरुलाई मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाण झस्काउने खालको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनामै नेपालबाट २ खर्ब १२ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । वस्तु आयात, सेवा खर्च, विदेश अध्ययन तथा भ्रमण लगायतका कारण एक महिनामै यति ठूलो रकम बाहिरिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा चालु खाताबाट १ खर्ब ७२ अर्ब ८१ करोड ६८ लाख रुपैयाँ बाहिरिएको थियो । दुई वर्षअघि अर्थात् आर्थिक वर्ष २०८१÷८२ को साउनमा यस्तो बहिर्गमन १ खर्ब ५६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ थियो । यस आधारमा एक वर्षमै चालु खाता बहिर्गमन करिब ४० अर्ब रुपैयाँले बढेको छ ।
तर, मुलुकबाट विदेशी मुद्रा बाहिरिने क्रम बढे पनि तत्कालै बाह्य क्षेत्र दबाबमा परेको अवस्था भने देखिँदैन । साउनमा चालु खातामा ३ खर्ब ७ अर्ब ६ करोड १५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएपछि खुद चालु खाता ९४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
आयातमै १ खर्ब ८० अर्ब
साउनमा बाहिरिएको विदेशी मुद्रामध्ये सबैभन्दा ठूलो हिस्सा वस्तु आयातमा खर्च भएको छ । एक महिनामा मात्रै वस्तु आयातका लागि १ खर्ब ८० अर्ब ८२ करोड २५ लाख रुपैयाँ बाहिरिएको छ ।
यसमा साधारण वस्तु आयातका लागि १ खर्ब ७९ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो खर्च १ खर्ब ३५ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा १ खर्ब २३ अर्ब ४० करोड १६ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा वस्तु आयातमा बाहिरिएको थियो ।
आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थमा गएको छ । साउनमा मात्रै पेट्रोलियम खरिदमा ३२ अर्ब २९ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको साउनमा पेट्रोलियम आयातमा १८ अर्ब २१ करोड ४१ लाख रुपैयाँ खर्च भएको थियो । दुई वर्षअघि यस्तो खर्च १४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ थियो ।
एक वर्षमै पेट्रोलियम आयातमा भएको खर्च १४ अर्बभन्दा बढीले बढेको तथ्यांक रहेको छ ।
यसको तुलनामा वस्तु निर्यातबाट मुलुकले साउनमा ४४ अर्ब ७० करोड ४६ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । फलतः वस्तु व्यापारतर्फ मात्रै १ खर्ब ३६ अर्ब ११ करोड ७९ लाख रुपैयाँको घाटा रहेको छ ।
विदेश अध्ययनमा मात्र बाहिरियो १० अर्बभन्दा बढी
वस्तु आयातसँगै सेवा क्षेत्रमा पनि विदेशी मुद्रा बाहिरिने क्रम ठूलो छ । वस्तु तथा सेवा शीर्षकमा साउनमा कुल २ खर्ब १० अर्ब १८ करोड ५९ लाख रुपैयाँ बाहिरिएको छ ।
यसमा विदेश अध्ययन गर्ने नेपाली विद्यार्थीले खर्च गर्ने रकम पनि प्रमुख हो । साउनमा वैदेशिक शिक्षाका लागि मात्रै १० अर्ब ८० करोड ४८ लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
यद्यपि, अघिल्लो आर्थिक वर्षको साउनमा शिक्षाका लागि १४ अर्ब ३१ करोड ४१ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१÷८२ मा १४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बाहिरिएको थियो । अर्थात् अघिल्ला दुई वर्षको तुलनामा चालु आवको पहिलो महिनामा शिक्षा शीर्षकको बाह्य खर्च घटेको छ ।
शिक्षा, स्वास्थ्य तथा अन्य व्यक्तिगत प्रयोजनका विदेश भ्रमणसमेत जोड्दा व्यक्तिगत भ्रमणतर्फ साउनमा १५ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २१ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ थियो ।
विदेशमा स्वास्थ्य उपचारका लागि १२ करोड ७० लाख रुपैयाँ खर्च भएको छ भने अन्य व्यक्तिगत भ्रमणमा ४ अर्ब ७६ करोड ७ लाख रुपैयाँ बाहिरिएको छ । व्यापारिक भ्रमणका लागि थप ३४ करोड ३२ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च भएको छ ।
व्यावसायिक सेवामा पनि बढ्यो बहिर्गमन
केन्द्रीय बैंकको तथ्यांकअनुसार प्राविधिक तथा व्यापारसम्बन्धी सेवाका लागि मात्रै साउनमा ३ अर्ब ९ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ५८ करोड ७४ लाख रुपैयाँ मात्रै थियो । यसरी एक वर्षमा प्राविधिक तथा व्यापारसम्बन्धी सेवामा भएको बाह्य भुक्तानी उल्लेख्य बढेको छ ।
व्यवस्थापन तथा व्यावसायिक परामर्श सेवाका लागि २९ करोड ५४ लाख रुपैयाँ, अनुसन्धान तथा विकासमा ३० लाख रुपैयाँ, सूचना सेवामा ६१ लाख रुपैयाँ र निर्माण सेवामा ६ करोड ३५ लाख रुपैयाँ बाहिरिएको छ ।
अन्य व्यावसायिक सेवातर्फ मात्रै साउनमा ३ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।
विदेशी लगानीकर्ताले लगे ४७ करोड लाभांश
नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनीले आर्जन गरेको नाफा तथा लाभांश बाहिर लैजाँदा पनि विदेशी मुद्रा बाहिरिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लगानी आम्दानी शीर्षकमा कुल १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ बाहिरिएको छ ।
यसमा विदेशी प्रत्यक्ष लगानीकर्ताले लाभांशका रूपमा ४७ करोड १९ लाख रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष लगानीको लाभांश फिर्ता ४७ करोड ९६ लाख रुपैयाँ थियो ।
त्यसैगरी विदेशी ऋणको ब्याज तथा अन्य लगानीसम्बन्धी भुक्तानीका लागि ९९ करोड ५४ लाख रुपैयाँ बाहिरिएको छ ।