नेभिगेशन
साहित्य

किताब पढे पैसा पाइने अभियान

हातमा स्मार्टफोन छ । औंला चलायो, केही सेकेन्डमै नयाँ सामग्री स्क्रिनमा आइपुग्छ । छोटा भिडियो, सामाजिक सञ्जाल र झट्ट पढेर सकिने सामग्री अहिले दैनिक जीवनको हिस्सा बनेका छन् । यही बानीले मानिसको ध्यान लामो समय एउटै विषयमा टिक्न छाडेको चिन्ता बढिरहेका बेला सिंगापुरले फरक प्रयोग थालेको छ । प्रयोग हो, किताब पढ्नुस्,  पैसा पाउनुस् ।
सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डको यो पाँचवर्षे ‘रिडएसजी’ अभियान हो, जसमा सहभागीले दैनिक कम्तीमा १५ मिनेट किताब पढ्नुपर्नेछ । पढेको समय सरकारी नागरिक सहभागिता मञ्च ‘क्राउडटास्क एसजी’मा अभिलेख गरेपछि भर्चुअल सिक्का पाइनेछ । हरेक १५ मिनेट पढ्दा २० सिक्का प्राप्त हुन्छ । एक हजार सिक्का पुगेपछि त्यसलाई एक सिंगापुर डलरमा साट्न सकिन्छ ।
यस हिसाबले दैनिक १५ मिनेट किताब पढ्नेले वर्षमा करिब ७.३० सिंगापुर डलर पाउनेछ । रकम ठूलो होइन । अभियानको उद्देश्य पनि पैसा कमाउने होइन । नियमित पढ्ने बानी बसाल्नु मुख्य लक्ष्य हो । त्यसका लागि व्यक्तिगत लक्ष्य, लगातार पढेको दिनको अभिलेख र अनुभव अंकजस्ता खेलमा आधारित सुविधा राखिएका छन् ।
राष्ट्रिय पुस्तकालय बोर्डकी प्रमुख मेलिसा टामका अनुसार अहिले मानिसको आकर्षण छोटो सामग्रीतर्फ बढेको छ । लामो समय ध्यान दिएर पढ्ने बानी भने कमजोर हुँदै गएको छ । उनका अनुसार नियमित पढाइले ध्यान केन्द्रित गर्ने क्षमता बलियो बनाउँछ । यसले सूचना बुझ्ने, आलोचनात्मक सोच्ने र कल्पना गर्ने क्षमता पनि बढाउँछ । उनले पढाइलाई व्यायामसँग तुलना गरेकी छन् । नियमित प्रयोग गरे बलियो हुन्छ । प्रयोग नगरे कमजोर हुँदै जान्छ ।

सिंगापुरको आफ्नै अध्ययनले पनि पढ्ने बानीमा आएको परिवर्तन देखाउँछ । सन् २०२४ मा राष्ट्रिय पुस्तकालय बोर्डले ३ हजार ७२५ वयस्कमा अध्ययन गरेको थियो । ८९ प्रतिशतले हप्तामा कम्तीमा एकपटक कुनै न कुनै सामग्री पढ्ने बताएका थिए । तर नियमित किताब पढ्नेको अनुपात २८ प्रतिशत मात्र थियो ।
त्यस वर्ष ७६ प्रतिशतले नियमित समाचार पढेका थिए । ६५ प्रतिशतले सामाजिक सञ्जाल वा वेबसाइटका सामग्री पढेका थिए । अर्थात् सिंगापुरमा मानिस पढ्न छाडेका छैनन् । उनीहरूले पढ्ने सामग्री भने फेरिएको छ ।
पढाइको महŒवबारे भने धेरैको धारणा सकारात्मक छ । ९३ प्रतिशतले पढाइले विश्वलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउने बताएका थिए । ९० प्रतिशतले आलोचनात्मक सोच सुधार्ने बताएका थिए । ८३ प्रतिशतले अरूसँग कुराकानीका लागि थप विषय मिल्ने बताएका थिए । तर ६२ प्रतिशतले अन्य गतिविधिमा बढी समय बिताउने बताएका थिए । ३८ प्रतिशतलाई केही समय पढेपछि दिक्क लाग्ने गरेको थियो ।
डिजिटल सामग्रीको प्रभाव पनि स्पष्ट छ । सन् २०२४ मा ८१ प्रतिशत वयस्कले भिडियोबाट सूचना लिन रुचि देखाएका थिए । छापिएको सामग्री रोज्नेको अनुपात ६२ प्रतिशत थियो । भौतिक किताब पढ्नेको अनुपात २०१८ को ८९ प्रतिशतबाट घटेर २०२४ मा ७५ प्रतिशतमा पुगेको थियो ।
यद्यपि पुस्तकालयप्रतिको आकर्षण घटेको छैन । सन् २०२४ मा सिंगापुरका पुस्तकालय र राष्ट्रिय अभिलेखालयमा दुई करोड आठ लाखभन्दा बढी मानिस पुगे । भौतिक सामग्री दुई करोड ४० लाखपटक ऋणमा लगियो । डिजिटल सामग्रीको प्रयोग पनि बढ्यो । सदस्यले एक करोड ४८ लाख डिजिटल सामग्री ऋणमा लिए ।
‘रिडएसजी’ अभियानको परीक्षण चरण सेप्टेम्बर ६ देखि सुरु भएर डिसेम्बर ३१ सम्म चल्नेछ । सन् २०२७ को सेप्टेम्बरसम्म एक लाख ५० हजार सहभागी जोड्ने लक्ष्य छ । अभियानलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । सहभागीको पढाइ ‘रिड फर गुड’ अभियानमा गणना हुनेछ । सन् २०२६ मा ७५ लाख मिनेट पढाइ जुटाउने लक्ष्य छ । त्यसबाट एक लाख ५० हजार सिंगापुर डलरसम्म सहयोग रकम जुटाइनेछ ।
पुरस्कार केही समयको प्रेरणा बन्न सक्छ । तर पाँच वर्षपछि पैसा नपाउँदा पनि मानिस पढिरहन्छन् कि रहँदैनन्, त्यो अभियानको असली परीक्षा हुनेछ । सिंगापुरको प्रयोगले एउटा प्रश्न भने विश्वसामु राखेको छ, किताब पढ्ने पुरानो बानी जोगाउन अब पैसाको प्रोत्साहन आवश्यक पर्ने हो ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य