नेभिगेशन
अर्थतन्त्र

५ अर्ब ९ करोडभन्दा बढीको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहँदा पनि यतिको आम्दानी भएको हो । 
प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडिसी) स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो । 
प्राधिकरण प्रवक्ता राजन ढकालका अनुसार विद्युत् निर्यात दुई मुख्य माध्यमबाट भएको छ । पहिलो, द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा भइरहेको छ ।  यसैंगरी विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत पनि भइरहेको छ । 
 द्विपक्षीय सम्झौतातर्फ ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको प्रवक्ता ढकालले जानकारी दिए । यसले कुल निर्यातको ठूलो हिस्सा ओगटेको छ । अर्कोतर्फ, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् बिक्री गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ कारोबार भएको छ । 
भदौ महिनाको यो निर्यात गत वर्षको सोही महिनाको तुलनामा वढी हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार गत वर्ष भदौमा करिब ४ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको थियो भने यसपटक झण्डै ३८ करोड रुपैयाँ बढी आम्दानी भएको छ । 
चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिना (साउन र भदौ) मा मात्रै करिब १० अर्ब १७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । साउनमा करिब ५ अर्ब ८ करोड र भदौमा ५ अर्ब ९ करोडको कारोबार भएको हो । यस अवधिमा कुल करिब १ अर्ब १९ करोड युनिट विद्युत् निर्यात भएको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार हाल दैनिक ५०० देखि ७०० मेगावाटसम्म अधिशेष विद्युत् निर्यात हुने गरेको छ । विशेष अवसरहरूमा यो मात्रा अझ बढ्ने गरेको छ ।
 भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ । यी आयोजनाबाट बंगलादेशलाई विद्युत् आपूर्ति हुँदै आएको थियो । प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ निर्यात सुचारु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको छ । भारतको स्वीकृति नभएसम्म यो मार्गबाट निर्यात पुनः सुरु हुन नसक्ने प्रवक्ता ढकालले बताए । यसअघि नेपाल–भारत–बंगलादेश त्रिपक्षीय व्यवस्थाअन्तर्गत बंगलादेशलाई ४० मेगावाटसम्म विद्युत् निर्यात हुँदै आएको थियो ।
नेपालको विद्युत् निर्यात क्षमता विस्तार हुँदै गएको छ । भारतले हालै थप ८० मेगावाट निर्यात अनुमति दिएपछि कुल स्वीकृत क्षमता करिब ११३० मेगावाट पुगेको छ । यसमा भारततर्फको द्विपक्षीय र बजारमार्फतको व्यापार तथा बंगलादेशतर्फको हिस्सा समावेश छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ । यसका लागि प्रसारण लाइन क्षमता विस्तार, बजार पहुँच वृद्धि र द्विपक्षीय तथा बहुपक्षीय सम्झौताहरूलाई बलियो बनाउने योजना अगाडि बढाइएको छ ।
विदेशी मुद्रा आर्जनको स्रोतका रूपमा विद्युत् व्यापारले व्यापार घाटा घटाउन सहयोग पु¥याउने अर्थविदहरुको भनाइ छ । वर्षायाममा अधिशेष ऊर्जा खेर जान नदिई बिक्री गर्दा प्राधिकरणको आम्दानी बढ्ने र यसले विद्युत् उत्पादन तथा प्रसारण पूर्वाधार विकासमा लगानी गर्न मद्दत गर्ने उनीहरुको भनाइ छ । गत आर्थिक वर्षमा नेपालले करिब २९ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो भने आयात त्यसभन्दा कम थियो । 
प्राधिकरणले भदौ महिनाको विवरण सार्वजनिक गर्दै विद्युत् निर्यातलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । आगामी महिनाहरूमा पनि वर्षायामको अधिशेष ऊर्जा निर्यात जारी रहने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्