नेभिगेशन
अर्थतन्त्र

‘मेड इन बंगलादेश’ ब्रान्डलाई विश्व बजारमा विस्तार गर्न राजदूतको आग्रह

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले प्रतिस्पर्धी र गुणस्तरीय वस्तु तथा सेवाको बजारीकरणमार्फत ‘मेड इन बंगलादेश’ ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित वाल्टनको ग्लोबल डिस्ट्रीब्युटर्स मिटमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत रहमानले बंगलादेशले उत्पादन, प्रविधि र नवप्रवर्तनमा हासिल गरेको क्षमतालाई विश्व बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले बंगलादेशको अग्रणी विद्युतीय तथा इलेक्ट्रोनिक्स उपकरण उत्पादकका रूपमा वाल्टनले उत्पादनको गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनमा गरेको कामको प्रशंसा गरे । वाल्टनका वितरक, आयातकर्ता, कर्मचारी, अनुसन्धान तथा नवप्रवर्तन टोली र व्यवस्थापनलाई बधाई दिँदै उनले उच्च प्रदर्शन गर्ने बिक्रीकर्मीलाई सम्मान गर्ने कम्पनीको पहल सकारात्मक रहेको बताए ।
‘उत्कृष्ट बिक्री परिणाम हासिल गर्ने बिक्रीकर्मीको योगदानलाई प्रोत्साहन र सम्मान गर्नु आवश्यक छ,’ उनले भने ।
राजदूत रहमानले नेपालमा वाल्टनको व्यवसाय विस्तारमा थापा समूहसँगको सहकार्यलाई पनि महत्वपूर्ण बताए । सन् २०१० देखि थापा समूह वाल्टनको नेपालस्थित साझेदारका रूपमा रहेको उल्लेख गर्दै उनले वितरण, बिक्री तथा बिक्रीपछिको सेवाको सञ्जाल थप विस्तार गर्न सुझाव दिए ।

नेपालका उपभोक्ताको आवश्यकता र रुचिअनुसार उत्पादन विकास गर्न तथा स्थानीय वितरक र खुद्रा विक्रेतासँगको साझेदारीलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो । नेपालमा वाल्टनको उपस्थितिलाई थप विस्तार गर्न सके त्यसले नेपाल–बंगलादेशबीचको व्यापारिक सम्बन्धसँगै जनस्तरको सम्बन्धसमेत थप सुदृढ बनाउन योगदान गर्ने उनले बताए ।
राजदूत रहमानले वाल्टनको औद्योगिक प्रतिष्ठान भ्रमणका क्रममा आफू उत्पादन क्षमता, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र गुणस्तरीय वस्तु उत्पादन गर्ने प्रयासबाट प्रभावित भएको स्मरण गरे । आधुनिक प्रविधि, गुणस्तर व्यवस्थापन र अनुसन्धानमा वाल्टनले दिएको प्राथमिकताले बंगलादेशको इलेक्ट्रोनिक्स उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पु¥याइरहेको उनले बताए ।
उनका अनुसार इलेक्ट्रोनिक्सलगायत उच्च मूल्यवद्र्धित वस्तुको निर्यात विस्तारले बंगलादेशको निर्यात संरचनालाई विविधीकरण गर्नसमेत सहयोग पुग्नेछ । वाल्टनको नेपालमा व्यवसाय तथा बजार विस्तारका लागि आवश्यक सहजीकरणमा बंगलादेशी दूतावासले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
काठमाडौंमा ग्लोबल डिस्ट्रीब्युटर्स मिट आयोजना गरेकोमा वाल्टन व्यवस्थापनलाई धन्यवाद दिँदै उनले नेपाल बंगलादेशी नागरिक तथा व्यवसायीका लागि खुला र स्वागतयोग्य गन्तव्य रहेको बताए । नेपाल र बंगलादेशबीचको सम्बन्ध लामो समयदेखिको जनस्तरीय सम्पर्कमा आधारित रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

वाल्टनले आफ्ना उत्कृष्ट प्रदर्शन गर्ने बिक्री प्रतिनिधिलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले ग्लोबल डिस्ट्रीब्युटर्स मिट आयोजना गरेको हो । उत्कृष्ट बिक्री प्रदर्शन गर्ने प्रतिनिधिलाई पुरस्कारस्वरूप नेपाल भ्रमणमा ल्याइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल र बंगलादेशका गरी करिब ३०० बिक्री प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा वाल्टन प्लाजाका गतिविधि तथा उपलब्धिबारे प्रस्तुति, नेपाल भ्रमणसम्बन्धी भिडियो प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्